निर्वाचन लक्षित सडक नाटक “चुनावदेखि चुनावसम्म”
काठमाडौं, २६ कात्तिक । युवा कलाकारको समुहले काठमाडौंको बसन्तपुरमा जनचेतना मूलक सडक नाटक “चुनावदेखि चुनावसम्म” प्रदर्शन गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी युवाहरु समुहले तयार पारेको नाटक शुक्रबार बसन्तपुरमा प्रदर्शन गरिएको हो ।
राजनीतिक दलहरुले चुनावमा जनतालाई ठूला आश्वासन र सपना देखाउने तर पूरा गर्न चासो नदिने प्रवृत्तिमा नाटक केन्द्रीत छ । चुनावमा आश्वासन मात्रै बाड्न आउने नेताको प्रवृत्ति माथि नाटकले प्रश्न गर्ने नाटकको परिकल्पनाकार तथा संयोजक विष्णु बसौलाले जानकारी दिए ।
दलहरुले निर्वाचनमा गर्ने वाचा र जनताको वास्तविक अवस्था विचको अन्तरलाई देखाउने उदेश्यले नागरिक आवाजको अभिव्यक्तिका रुपमा नाटक प्रस्तुत गरिएको बसौलाले बताए । नाटक कुनै वाद र विचार र स्वतन्त्र उमेद्वारी अभियानसंग समेत सम्बन्धीत नभइ विशुद्ध नागरिक अभिब्यक्तिको माध्यमको रुपमा प्रस्तुत गर्न खोजिएको छ।
नाटक प्रदर्शनका क्रममा निर्वाचन आयोग र स्थानीयतहबाट आवश्यक सहजीकरण नगरिएकोमा कलाकारहरुले असन्तुष्टि व्यक्त गरे । नाटकले लोकतन्त्र, गणतन्त्र, संघीयताको मर्म अनुकुल नागरिक जीवनका बहु आयाममा खास प्रभाव नदेखिएको विषयमा जोड दिइएको छ।
देश संघीयतामा गएपछि उखु बचेको रकमको भुक्तानी तथा मल विउका लागि किसान काठमाडौंमा आएर संघर्ष गर्नुपर्ने बाध्यता, मिटर व्याज पीडितको आन्दोलनलाई नाटकका माध्यमबाट प्रस्तुत गरिएको छ ।
बढ्दो बलात्कार, द्धन्द पीडितका मुद्धा, नागरिकता पीडितको संघर्ष, मौलिक हकको कार्यान्वयनमा सरकारको उदासीनता, महंगी तथा भष्ट्राचार, रोजगारी नपाएर विदेशीनुपर्ने विडम्बनापूर्ण अबस्था, सरकारी ढिला सुस्ती र झण्झटको बिषयलाई पनि नाटकले केन्द्रमा राखेको छ। भीभीआईपी सवारीका नाममा नागरिकले सामना गर्नुपरको सास्ती, निर्वाचनका वेला मतपत्र पुग्ने तर पुस्तक नपुग्ने समस्या लगायत विषय नाटक मार्फत प्रस्तुत गर्न खोजिएको छ ।













