स्वच्छ र विश्वसनीय तरिकाले निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन

धनगढी,२५ कात्तिक । सामान्यभन्दा संवेदनशील मतदान स्थल र मतदान केन्द्र बढी रहेको सुदूरपश्चिम प्रदेशमा संवेदनशीलतालाई मध्यनजर गरेर निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेशभरि अति संवेदनशील ३५२ र संवेदनशील ४०४ गरी प्रदेशभरि ७५६ मतदानस्थल संवेदनशील छन् । भौगोलिक विकटता लगायतका कारणले संवेदनशील मतदान स्थल र केन्द्र बढी रहेको यो प्रदेशमा शान्तपूर्ण वातावरणमा स्वच्छ र विश्वसनीय तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि संवेदनशीलतालाई मध्यनजर गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको हो । निर्वाचन लक्षित सुरक्षाका लागि झन्डै १८ हजार सुरक्षाकर्मी परिचालन भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित सुरक्षाका लागि १७ हजार ८५९ सुरक्षाकर्मी परिचालन भइसकेका छन् । जसमध्ये ११ हजार ५५९ म्यादी प्रहरी रहेका छन् । त्यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले बताए । ‘नेपाली सेना, सशस्त्र र हाम्रो प्रहरी सबै परिचालन भइसकेका छन्’, उनले भने,‘म्यादी प्रहरी पनि सबै जिल्लामा पठाइ सकिएको छ ।’

निर्वाचनको बेला १७७ वटा मोबाइल टिम परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गाडीसहितको यो टोली यताउती घुमिरहने छ । यसैगरी, २० वटा रिजर्भ टिम तयार पारिएको रावलले बताए । यो टिम आवश्यकतानुसारमात्रै परिचालन हुनेछ ।

मतदान स्थलहरुमा भने निर्वाचनको दुई/तीन दिन अगाडिमात्रै सुरक्षाकर्मी खट्ने उनले जनाए । ‘निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित म्यादी प्रहरी फरक–फरक लोकेशनमा तैनाथ हुनेछन्’, उनले भने ।

बाजुरामा ७४९ म्यादी प्रहरी, डोटीमा ९५३, डडेल्धुरामा ९३७, कैलालीमा दुई हजार ८१२, अछाममा एक हजार २६८ म्यादी प्रहरी परिचालन गरिएको छ । यसैगरी, बैतडीमा एक हजार १९१, बझाङमा एक हजार १८८, दार्चुलामा ८२९ र कञ्चनपुरमा एक हजार ६३२ म्यादी प्रहरी परिचालन गरिएको छ ।

एक हजार १६१ मतदान स्थल रहेको यो प्रदेशमा सामान्यभन्दा संवेदनशील मतदान स्थलको सङ्ख्या बढी रहेको छ । अति संवेदनशील ३५२ र संवेदनशील ४०४ गरी प्रदेशभरि ७५६ मतदानस्थल संवेदनशील रहेका हुन । ४०५ मतदानस्थल भने सामान्य सूचीमा रहेको छ । निर्वाचनको सयममा संवेदनशीलतानुसार सुरक्षाकर्मीलाई मतदान स्थलमा खटाइने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

३२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये, ७१० अति संवेदनशील, ७७८ संवेदनशील र ६५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । संवेदनशील मतदान स्थल बढी रहेको सुदूरपश्चिम प्रदेशलाई हेर्ने गरी सुर्खेतलाई केन्द्र बनाएर दुई वटा हेलिकोप्टरको गृह मन्त्रालयले व्यवस्था गर्दैछ । त्यहाँ रहेका हेलिकोप्टरले सुदूरपश्चिम प्रदेश र कर्णालीलाई हेर्ने मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
यस्तै, आधा घण्टामा पुग्न सक्ने गरी ठाउँ–ठाउँमा नेपाली सेना तैनाथ गरिएको उनले जनाए । ‘कहाँ कहाँ बस्ने भन्ने तय नेपाली सेनाले नै नक्सा हेरेर आफै गरेको छ’, पोखरेलले बताए । शान्त र भयरहीत वातावरणमा स्वच्छ, निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यालयदेखि निर्वाचन केन्द्रसम्म सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ । ‘निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी खटेका छन्’, पोखरेलले भने,‘मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी खट्नेछन् । उसलाई सपोर्टका लागि नेपाली सेना र सशस्त्र प्रहरी पनि खटनेटन् ।