नागरिकता नभएको कारण झन्डै २ लाखले मताधिकारबाट बञ्चित

धनगढी, २४ कात्तिक । आसन्न निर्वाचन र नागरिकताको अधिकार विषयक सञ्चारकर्मीसंगको छलफल कार्यक्रम मुलुकमा झण्डै लाखल मताधिकारबाट बञ्चित भएको बताइएको छ । महिला कानून र विकास मञ्चको आयोजनामा भएको छलफल कार्यक्रम यस्तो तथ्यांक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागीले सीमान्तकृतका धेरै जसो उमेर पुगेका व्यक्ति विविध कारणले नागरिकता पाउनबाट बञ्चित रहेको बताए । मुक्त कमैया, मुस्लिम र मधेसी समुदायका कतिपय व्यक्ति अझै पनि नागरिकताविहीन रहेको उनीहरुको भनाइ थियो ।

उमेर पुगेर पनि विविध कारणले नागरिकता पाउन नसकेका व्यक्तिहरु निर्वाचनमा मताधिकार प्रयोग गर्नबाट पनि बञ्चित हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरे । सङ्घसंस्थाको संरक्षणमा हुर्केका अनाथ बालबालिका ठूलो भएपछि नागरिकता पाउनबाट बञ्चित भइरहेको धनगढी उपमहानगरपालिका–२ का वडा अध्यक्ष धर्मराज ओझाले बताए ।

‘नागरिकता नहुँदा कतिपयले थुप्रै समस्या झेलिरहेका छन्’, उनले भने,‘नागरिकताको सिफारिसका लागि हामी कहाँ धरै आउँछन् । तर, कानूनी व्यवस्था अनुसार प्रक्रिया नपुग्दासम्म उनीहरुलाई नागरिकताको लागि सिफारिस गर्न सकिन्न ।’

विभिन्न कारणले आमाबुबाका नागरिकता नबनेका कारण तिनका सन्तान नागरिकता पाउनबाट बञ्चित भइरहेको जनाइएको छ । गृह मन्त्रालयको तथ्याङ्क अनुसार उमेर पुगेर पनि एक लाख ९० हजार ७२६ जना नेपाली विविध कारणले नागरिकता पाउन नसकेका अधिवक्ता दीपेश श्रेष्ठले बताए । त्यसैगरी, पाँच लाख व्यक्तिले नागरिकताका लागि आवेदन दिएका छन् । यी सबै गरेर नागरिकता नभएका कारण आसन्न निर्वाचनमा धेरै व्यक्तिले आफ्नो मताधिकारको प्रयोग गर्न नपाउने उनको भनाइ छ ।

नागरिकताको अधिकार राष्ट्रिय मुद्दा रहेकाले यो मुद्दा सम्बोधन गराउनका लागि महिला कानून र विकास मञ्चले पहल गर्दै आएको अधिवक्ता रेणु प्रधान श्रेष्ठले बताइन । ‘संविधानले नै व्यवस्था गरेको नागरिकता पाउने अधिकारलाई सहज रुपमा सबैले उपभोग गर्न पाउनुपर्छ’, उनले भनिन् ।