धनगढीमा सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि हुने
धनगढी,२१ कात्तिक । विगत १६ वर्षदेखि सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धन र विस्तारका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको कैलाली उद्योग बाणिज्यसंघले जनाएको छ ।
संघका अध्यक्ष पुष्पराज कुँवरले ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हरेक वर्ष झै यो वर्षपनि मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव आयोजना हुने बताए ।
संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाको रूपमा मनाइने बताए ।
वृहत व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि संगै माछा, केरा, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिएको उनले बताए ।
उनले कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यान सहितका पाँचसय जति स्टल रहने बताए ।
विगत दुई वर्षदेखि कोरोना संक्रमणका कारण भव्यताका साथ आयोजना गर्न नसकिएको महोत्सव यो वर्ष भने अरु वर्षभन्दा फरक हुने उनले बताए। महोत्सव आयोजना गर्न अनुमानित २ करोड लगानी लाग्ने र महोत्सवमा सहभागी व्यवसायीले १० करोड बढीको व्यापार गर्ने अनुमान गरिएको छ।
विगतमा संघीय सरकारलाई २१ किलोको मालासहित २१ बुँदे माग र प्रदेश सरकारलाई सात किलोको मालासहित ७ बुँदे माग राखेको संघले केही माग पुरा भएको भन्दै यसवर्ष माग संशोधन गर्ने तयारी समेत गरेको छ । अध्यक्ष कुँवरले मागहरू हेरफेर गर्न छलफल गरिरहेको बताए ।
धनगढीको पशुपती टोलमा महोत्सवको आयोजना गर्न लागिएको हो। यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।













