बलविवाह विरुद्ध राजनीतिक दलहरुसँग अन्तरक्रिया

धनगढी, २० कात्तिक । निर्वाचनलाई लक्षित गरि बालविवाह विरुद्ध उम्मेदवार र राजनीतिक दलसंग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‘विहेबारी २० वर्ष पारी’ भन्ने मूल नाराका साथ सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुले किशोर किशोरीहरुको भविष्य निर्माणकालागि अ आफ्नो धारणा सहित प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले समाज परिवर्तन गर्नका लागि सबै भन्दा पहिला मानसिक परिवर्तन गर्नुपर्ने बताए । उनले बालबिबाह जस्ता समस्यालाई रोक्नको लागि जबसम्म मानसिकरुपले सकारात्मक भइन्दैन तब सम्म यस्ता चिन्तनको अन्त्य नहुने बताए ।

उनका अनुसार बालबालिकालाई बालविबाह हुनबाट रोक्न खोज्दा विभिन्न अपराधिक कृयाकलापसंगै आत्महत्याको जोखिम बढ्ने समस्या देखापरेको छ । बालबालिकाहरु अहिले १८ वर्ष मुनि नै बिहे घटना धेरै रहेको बताए ।

नेकपा माओवादी कैलालीका अध्यक्ष लाजुराम चौधरीले वैज्ञानिक चेतनाको अवस्थामा बालबालिकाले सानै उमेरमा विवाह गरेर वच्चा जन्मायो भने के कस्ता समस्याहरु हुन्छन भनि घरबाटै सम्झाउन जरुरी रहेको बताए ।

उनले माओवादी पार्टीबाट बालबालिकाहरुका लागि विभिन्न किसिमका जनचेतना मूलक कार्यक्रम, बाालबिबाह न्युनिकरण लगायतका कार्यक्रमहरु गर्दै आईरहेको जानकारी दिए ।

उनले निर्वाचनको बेला राजनीतिक दलले गरेका प्रतिबद्धतालाई लागु गर्न सबैले अ आफ्नो ठाँउबाट अवाज उठाउन अनुरोध गरे ।

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलकी इन्सिपेक्टर सरस्वती अधिकारीले कार्यक्रममा बालबिबाह सम्बन्धी उजुरी कस्ले गर्ने कहाँ गएर उजुरी हाल्ने, उजुरी गरिसकेपछि कस्ले जिम्मा लिने जस्ता समस्या धेरै हुने भएकोले यस्ता समस्या समाधानका गर्न अभिभावक तथा किशोर किशोरीहरुलाई जनचेतना अतिनै आवश्यक रहेको बताईन् ।

उनले जिल्ला प्रहरी कार्यालयको उद्देश्य भनेको कानुन बमोजिम कार्बाही गर्ने हो । यस्ता समस्याहरुलाई समाधान गर्न संघसस्ंथा बिच समन्वय र सहकार्य हुन जरुरी रहेको बताई ।

दलित महिला अधिकार मञ्चले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट किशोरी सञ्जालका किशोरीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मञ्चका अध्यक्ष सवित्रा घिमिरे सभाअध्यक्षता भएको थियो भने विमला कडायतले कार्यक्रम सञ्चालन गरेका थिईन ।