नागरिक उन्मुक्ति पार्टीको घोषणा पत्र : नागरिकलाई उत्पादनसँग जोडने
कैलाली १८ कात्तिक। उत्पादनसँग नागरिकलाई जोडने विचौलियाको अन्त्य विना मुलुक, समाज कसैको भविष्य सम्भव छैन । हाम्रो देशले फड्को मार्न नसक्नुको एउटै कारण विचौलियाको विगविगी हो ।
आज हाम्रो देशको नेता देखि विकास, व्यापार निर्माण, उत्पादन, यहाँ सम्मकि शिक्षा र स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रमा समेत विचौलियाको वर्चस्व छ । यदि समयमै विचौलिया निरूत्साहित गर्ने योजना नल्याउने हो भने देशैं विचौलियाको हातमा नपुग्ला भन्न सकिन्न । यसका लागि नागरिक उन्मुक्ति पार्टीले ‘उत्पादनसँग नागरिकलाई जोड्ने’ विशेष योजना ल्याएको छ ।
के छ योजनामा ?
१. नागरिक उन्मुक्ति पार्टी विजय भएको क्षेत्रमा कुनै पनि कार्य विचौलिया मार्फत गर्ने छैन ।
२. कृषक, उद्योगी, उद्यमी, आदिले उत्पादन गरेका वस्तु उनै मार्फत बिक्री वितरण गर्ने व्यवस्था गर्नेछौं ।
३. विकास निर्माणका कार्यहरू सामूहित परिश्रमसहितको उत्पादनबाट व्यवस्था मिलाउनेछौं । हामी गर्नेछौं
१. शुद्व पिउने पानीको ज्ञारेन्टी ।
२.एक पालिका एक वृद्धाश्रम
३. जेष्ठ नागरिकको मासिक एकपटक स्वास्थ्य जाँच ।
४. गरिब, सुकुम्बासी, मजदुरका बालबालिकालाई सतप्रतिशत शिक्षा निशुल्क ।
५. स्वरारेजगारको आधारभूत तालिम ।
हामी गर्दैनौं
१. घुस खान्नौं ।
२. भ्रष्टाचार गर्दैनौं ।
३. कसैको दबाब तथा अनावश्यक करकापमा रहेर अनुचित कार्य गर्नेछैनौं ।
स्वास्थ्य हरेक मुलुकको शाकसदेखि राज्य सञ्चालनसम्म सबैले चाहन्छन्– आफ्ना नागरिक स्वस्थ रहुन् । स्वस्थ नागरिक बिना मुलुक सञ्चालनको परिकल्पना गर्न सकिँदैन । सबैजसो राजनीतिक दलहरूको एजेण्डामा स्वास्थ्य शीर्षक बिनाको घोषणापत्र, प्रतिवद्धतापत्र सम्पूर्ण अपूरा हुन्छन् । धेरै शब्द खर्चिरहनुभन्दा नागरिक उन्मुक्ति पार्टी जनस्वास्थ्यको सबालमा निम्न कुरामा प्रतिवद्ध छ ।
नागरिकको स्वास्थ्य नै राज्यको धन हो
१. जन्मदेखि ५ वर्षसम्म सम्पूर्ण बालबालिकाको उपचार निशुल्क ।
२. हरेक नागरिकको स्वास्थ्य उपचार बिमा निशुल्क ।
३. ६५ वर्षभन्दा बढी उमेरका नागरिकको उपचार निशुल्क ।
४. दीर्घ रोगी नागरिकको उपचार निशुल्क ।
५. हरेक पालिकास्तरमा कम्तिमा २५ शैयाको एक अस्पतालको साथै असक्त, वृद्धवृद्धा, बालबालिका र महिलाहरूलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने ।
६. हरेक महिना कम्तिमा एकपटक प्रेसर, सुगर, युरिक एसिडजस्ता रोगको परीक्षण घुम्ति शिविरमार्फत् अनिवार्य गर्ने ।
७. नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणको तहसम्म पुगेको खण्डमा कम्तिमा ‘एक प्रदेश एक शिक्षण अस्पताल’को अवधारणा ल्याई स्थापना गर्ने ।
रोजगार
नागरिक उन्मुक्ति पार्टीले सगौरव घोषणा गर्दछ– हामी ‘स्वरोजगारमूलक देश’ बनाउँछौं । सामूहिक परिश्रमले ठूलाठूला जल आयोजना, कृषि कारखानाको निर्माण गर्छौं ।
देशको उर्वर भूमिलाई हराभरा कृषि उब्जनी क्षेत्र बनाउँछौं । हामी अल्छी, गफाडी, एकल जातीय मानसिकता बोकेका घमण्डी नेताहरूलाई चुनौती दिन चाहन्छौं– पहाडको खाली जमिन तराईका श्रमिक, मेहनती जनतालाई हस्तान्तरण गरिएको खण्डमा मुलुक हराभरामात्रै होइन, साँच्चिकै समृद्ध बन्नेछ ।
१. नेपाली श्रमिकलाई विदेशमा स्याउ टिप्न, विरूवा गोड्न, धान रोप्न, पशुपालन कार्यमा लगाउन नपठाउने । हामी सबैले त्यो वातावरणको निर्माण आफ्नै देशमा गर्ने । यो सम्भव पनि छ, गर्नैपर्छ ।
२. हिमाली, पहाडी र तराईको कृषि प्रणालीका लागि अध्ययन, अनुसन्धान गर्न कृषि विज्ञहरूको टोली बनाउने । कहाँ, के गन सकिन्छ, सोको व्यवस्था तत्कालै गर्ने । कृषि विउविजन अनुसन्धान केन्द्रको तत्कालै स्थापना गर्ने । रैथाने विउविजन, फलफूल उत्पादनलाई बढी महत्व दिने । आज संसारमा उत्पादन, बिक्री वितरण गरेर सबैभन्दा बढी लाभ रैथाने उत्पादनले नै पाएका छन् । त्यसैले रैथाने बाली, विउविजन र उत्पादनलाई विशेष महत्व दिने ।
३. जीवनयापनमा अति महत्वपूर्ण वस्तुमात्रै आयात गर्ने । सौख रहरिला वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाउने । यदि राज्यले वैदेशिक हरियो तरकारी, माछामासु, फलफूलमा तुरून्त रोक लगाउने हो भने रोजगारी चौगुणा बढेर जानेछ । त्यसैले भान्सामा विदेशी तरकारी होइन, स्वदेशी पकाउने, स्वदेशी फलफूललाई उपभोग गर्ने, स्वदेशी कृषकले उत्पादन गरेको माछामासु मात्रै खाने । हरेक स्वदेशी उत्पादनलाई बढावा दिने हो भने रोजगारी खोज्न विदेश जानै पर्दैन ।
४. यान्त्रिक खेतीको विकास विना राज्यको नागरिक पाल्नु अब सम्भव छैन । त्यसैले यान्त्रिक प्रणालीलाई अवलम्बन गर्ने । स्वदेशका यान्त्रिक वैज्ञानिक महाविर पुनजस्तालाई राज्यले सहयोग गरी त्यस्ता केन्द्रको राज्यभरि नै विस्तार गर्ने ।
५. मुलुकको उत्पादन वस्तु विदेशमा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्ने परिपाटी मिलाउने ।
६. अब सरकारी प्राविधिकको मात्रै भर नपरि स्वंय स्थानिय कृष्कलाई नै तालिम दिइ दक्ष प्राविधिक बनाउने
स्वयं स्वरोजगार हुने आधारहरू
१. आफूले उपभोग गर्ने वस्तुको उत्पादन आफैँले थालौं ।
२. वैदेशिक सामाग्रीको प्रयोग गर्नपरे मात्रै गरौं । अनावश्यक सौख नपालौं ।
३. पहिलो सुरूवात आफ्नै घरदैलो, भान्साबाट गरौं ।
४. आफ्नो करेसाबारीमा आफूलाई पुग्ने तरकारीका लागि परिश्रम गरौं ।
५. आफ्नो थोरै जमिनको सदुपयोग गरौं । दुई बोट फूल, दुई बित्ते जमिनबाट उत्पादित तरकारीले एक परिवार सहजै धान्न सकिन्छ भन्ने बुझौं ।
६. परिवार जीवनयापनको सहजीकारणको प्रशिक्षण हाम्रो नागरिक उन्मुक्ति पार्टीले पहिलो प्राथमिकतामा राखेको छ ।
तब स्वरोजगार भइन्छ
१. खाली नबस्ने र जमिन खाली नदेख्ने ।
२. सरकारसँग रोजगार माग्ने होइन, सरकारलाई वैदेशिक मजदुर झिकाउन दबाब दिने वातावरणको सिर्जना आफैँले गर्ने ।
३. भलो चिताउने होइन, हलो जोताउने नेताको खोजी गर्ने ।
४. घरछेउका, खोला–नाला सदुपयोगका लागि स्थानीय सरकारसँग समन्वय गरी सामूहिक श्रम र लगानीबाट मनग्य आम्दानी लिन सकिन्छ । त्यसैले घरछेउका खोला–नाला, वनमै सामूहिक श्रम गरी रोजगारका वैकल्पिक व्यवस्थापन आफैँले गर्ने । पारिश्रमिकसहितको सामूहिक श्रमदान गर्न तत्पर हुने ।
५. सानातिना बाटोघाटो, पुलपुलेसा, ठेकेदारलाई होइन, जनतालाई दिनुपर्छ भनेर स्थानीय सरकारलाई दबाब दिने ।
६. सिक्ने गुणको बानी बसाल्ने । सक्दो आफैँले गर्ने, अरूलाई नअह्राउने ।
७. मुलुक श्रमले बन्छ, सीपले बन्छ र सकारीले बन्छ । श्रम, सीप र सकारी छैन भने स्वरोजगार पनि भइन्न । त्यसैले सरकारलाई श्रम, सीप, सकारी सदुपयोगका लागि खबरदारी गर्ने वातावरणको सिर्जना नागरिक उन्मुक्ति पार्टीले गर्नेछ ।
नागरिक उन्मुक्ति पार्टी विद्रोहबाट जन्मिएको पार्टी हो । यसले अझै केही विषयमा अहिंसित राजनीतिक विद्रोह गर्न बाँकी छ । केही कुरा हाम्रो पार्टीले गर्ने लक्ष्य नै लिएको छ । यो हाम्रो दृष्टिकोण, लक्ष्य राजनीतिक उद्देश्य जे भन्नुस्, यसमा हामी अनवरत संघर्ष गरिरहने छौं ।
१. राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने ।
२. ‘भौगोलिक, साँस्कृतिक पहिचानसहितको संघीयता’ हाम्रो राजनीतिक उद्देश्य हो । प्रदेशको नामाकरणमा हाम्रो गम्भीर असहमति छ ।
३. केही प्रदेशको भूगोलमा पनि हाम्रो गम्भीर आपत्ति छ । राज्यको भूगोल नेताले होइन, जनताले व्यवस्थापन गर्नुपर्छ । देशको केही जिल्ला नेताको स्वार्थमा थपिएको छ र, अझ केही जिल्ला जनव्यवस्थापनका लागि थपिनुपर्दछ ।
४. जथाभाबी बाटो निर्माणको नाममा ठेकेदार नेताले ब्रह्मलुट गरिरहेको सर्वविदितै छ । त्यसैले अब बाटो होइन, वस्ती व्यवस्थापन गर्नुपर्छ ।
५. असक्त, अस्वस्थ, वृद्ध नेतालाई राजनीतिमा छाइरहन दिने हो भने मुलुक कहिल्यै समृद्ध हुनसक्ने छैन ।
६. प्राकृतिक न्याय नपाएका व्यक्ति अपांग जीवन व्यतित गरिरहेकाहरूको गाँस, बाँस कपासको, पुनः ग्यारेन्टी राज्यले लिनुपर्छ ।
७. विषय कठिन छ, असजहजस्तै छ । तर पूर्ण मानसिकताले सहजै सम्भव छ । एकीकृत वस्ती नबनाइकन चक्लाबन्दी गरेर कृषि प्रणाली नअपनाएसम्म अन्नपातको आयात भइरहन्छ । र, जबसम्म आयातित मानसिकताबाट हामी ग्रसित भइरहनेछौं, तबसम्म देश विकास सम्भव छैन ।
८. नेपालका धेरै वनलाई तुरून्त आरक्ष बनाउनु जरूरी छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीको सरकारले सम्भव भएका स्थानमा तुरून्त त्यसको अवधारणा अघि सार्ने छ ।
९. राज्यले छुट्याएको जातीय कल्स्टर अति नै विभेद्पूर्ण छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीले संसदीय संघर्षमा यही विषयको उठाउन गर्ने छ ।
एक प्रदेश एक संकल्प
१. एक प्रदेश एक अन्तर्राष्ट्रियस्तरको रंगशाला अनिवार्य बनाइनेछ ।
२. एक प्रदेश एक मल कारखाना अनिवार्य बनाइनेछ ।
३. एक प्रदेश एक शिक्षण अस्पताल अनिवार्य बनाइनेछ ।
४. एक प्रदेश एक हाइड्रोपावर हाउसको निर्माण अनिवार्य गरिनेछ ।
५. एक प्रदेश एक पहिचान सहितको शिक्षा अध्यापन गराइने विश्वविद्यालय खडा गरिनेछ ।
६. रुग्न उद्योग सञ्चालन गर्नुको साथै एक प्रदेश एक कृषियन्त्र कारखाना खेल्नेछौं ।













