बेलौरी भन्सार कार्यालयमा लगाइएको ताला खोल्न ९१९ जनाको हस्ताक्षर
कञ्चनपुर । कञ्चनपुरको बेलौरी स्थित छोटी भन्सार कार्यालयमा लगाइएको ताला खोली कार्यालय सुचारु गर्न ९ सय १९ जनाको हस्ताक्षर सहित भन्सार विभाग र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई निवेदन पेस गरिएको छ ।
बेलौरी छोटी भन्सार कार्यालयमा ताला लागेको ६ महिना भइसक्दा पनि सम्बन्धित निकाय मौन रहेको भन्दै बेलौरीका नागरिक स्तरबाट उक्त ताला खोली भन्सार कार्यालय निर्बाध रूपमा सुचारु गर्न माग गरिएको छ । नागरिक स्तरबाट सङ्कलन गरिएका हस्ताक्षर सहितको उक्त निवेदन पत्र बुधबार एक टोलीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल र भन्सार विभागका महानिर्देशकलाई बोधार्थ, कार्यार्थ पत्र सम्प्रेषण गरिएको छ ।
निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले तत्कालै सम्बन्धित सरोकारवाला निकायमा टेलिफोन गरी आवश्यक प्रक्रिया पूर्याई बेलौरी भन्सार पुनः सुचारु गर्न, कर्मचारी व्यवस्थापन सहितका विषयमा ध्यानाकर्षण गराउनु भयो । उहाँले बेलौरी भन्सार कार्यालय विगत लामो समयदेखि सञ्चालनमा रहेकोले हाल बन्द हुँदा चोरी निकासी हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नुपर्ने भएकोले पनि तत्कालै भन्सार कार्यालय खुलाउने सम्बन्धमा भन्सार विभागका महानिर्देशक लगायतसँग समेत आवश्यक समन्वय गरिरहेको र सकेसम्म छिटो सञ्चालनका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाएको छ ।
जिल्लाभर जे जति संरचना रहेका छन्, तिनीहरूलाई बढी भन्दा बढी प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने र त्यसबाट नागरिकहरूलाई सेवा प्रवाहमा पनि सहजता हुनसक्ने गरी नियमितता दिनुपर्छ भन्ने जिल्ला प्रशासन कार्यालयको धारणा रहेको छ ।
बेलौरी छोटी भन्सार कार्यालय पछिल्लो केही समययता बेवारिसे अवस्थामा रहेकोमा नागरिक स्तरबाट चिन्ता र चासो बढेको छ । “करिब १६२ वर्ष पहिले वि।सं। १९१७ सालमा सुदूरपश्चिमकै एक मात्र मुख्य भन्सारका रूपमा स्थापित बेलौरी मुख्य भन्सार नाका वि।सं। २०१९ सालमा सदरमुकाम विस्थापित भएपछि मुख्य भन्सारको रूपमा निरन्तर कायम रहन सकेन । यद्यपि छोटी भन्सार कार्यालयको रूपमा भने उक्त नाका निरन्तर रह्यो । त्यसपछि भन्सारका निकासी पैठारीका प्रचलित सिद्धान्तमा हेरफेर भएसँगै पशुुचौपाया समेत आयात निर्यात गर्ने गरी भन्सारसँगै पशु क्वारेनटाइन चेक पोष्ट समेत स्थापना भई हालसम्म सञ्चालनमा रहेको छ । कञ्चनपुर र कैलालीका दर्जन जति छोटी भन्सार कार्यालयहरू सशस्त्र द्वन्द्वको समयमा विस्थापित भए पनि बेलौरी भन्सार कार्यालयलाई पुनर्स्थापित गरियो ।
पछिल्लो समयमा भौतिक संरचना र आवश्यक पूर्वाधारहरूको सहज पहुँच भएसँगै बेलौरी भन्सार नाकालाई स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेशकै प्रमुख नाकाका रूपमा स्थापित गर्न सकिने प्रशस्त सम्भावना देखिएका छन् । तर पछिल्लो केही समययता उक्त बेलौरी भन्सार कार्यालयमा ताला झुण्ड्याइएको छ । यो सबैको चिन्ता र चासोको विषय बन्नु पर्दछ । सरोकारवाला निकायले भन्सार कार्यालय तुरुन्त सञ्चालनमा ल्याओस् ।”
नेपालतर्फ बेलौरी छोटी भन्सारको स्वामित्वमा करिब ३ बिघा ३ कट्ठा १३ धुर जमिन, एउटा दुई तले र दुइटा एक तले पक्की भवन भएको, नेपाल–भारत बिचमा कुनै वन जङ्गल तथा नदीनाला नभएको र दुवै देशले बेलौरी खजुरीया आधुनिक नाका भन्सारको प्रक्रिया अगाडी सारेको अवस्था छ । भन्सार कार्यालयकै करिब एक शताब्दी पुरानो जीर्ण भवन समेत रहेको छ ।
आर्थिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बोकेको बेलौरी छोटी भन्सार स्तरोन्नतिको साटो बेवारिसे अवस्थामा रहनु यस क्षेत्रमा नेतृत्वकर्ता र राज्य पक्षको गैरजिम्मेवारीपन ठहरिएको बेलौरीका सामाजिक अभियन्ता मेवाराम चौधरीको भनाइ छ । २०७५ मङ्सिरमा काठमाडौँमा भएको नेपाल–भारत दुवै देशका भन्सार विभागको उच्च स्तरीय प्रतिनिधि मण्डलको भेलाले समेत कञ्चनपुरको बेलौरी सहित देशभरका पाँच वटा सीमा विन्दुहरूमा नाका भन्सार स्थापना र स्तरोन्नति गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो ।
भारतसँगको द्विदेशीय भन्सार नाकाका रूपमा बेलौरी–खजुरीया भन्सार नाका स्थापित गर्न सके सुदूरपश्चिम प्रदेशका लागि प्रमुख आर्थिक, व्यापारिक र पर्यटकीय गतिविधि तथा विकासमा टेवा पुग्ने देखिन्छ । यो प्रचुर सम्भावना बोकेको बेलौरी भन्सार कार्यालयमै ताला झुण्ड्याइरहनु कुनै तवरबाट पनि उचित नदेखिएकोले पुनः भन्सार नाका सञ्चालनमा ल्याई स्तरोन्नति गरिनु पर्ने थारु कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सुनिता चौधरीको धारणा छ ।













