‘विपद्को बेला महिलाहरुपनि जोखिम मोलेर अग्रस्थानमा उभिन्छन्’

धनगढी, १५ कात्तिक । जस्तो सुकै विपद्को बेलामा महिलाहरु पनि अग्रस्थानमा क्रियाशील भएर काम गरिरहेको एक कार्यक्रमका वक्ताहरुको भनाई छ ।

धनगढीमा आयोजित प्रदेश स्तरीय लैंगिक उत्तरदायी विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा महिला नेतृत्व क्षमता अभिबृद्धि तालिममा महिला मानव अधिकार रक्षक सञ्जाल कैलालीका अध्यक्ष अम्बिका भण्डारीले विपद् पश्चात महिलाहरुपनि जोखिम मोलेर काम गरिरहेको बताईन् ।

उनले भनिन् ‘महिलाहरु सूचना प्रवाह गर्ने, उद्धारमा खतिने, राहत संकलन लगायतको काममा सक्रिय भूमिका निर्वाह गर्छन् तर उनीहरुले गर्दै आइरहेको कामको कुनै मूल्यांकन छैन ।’

महिला मानवीय सहायता तथा विपद् जोखिम न्यूनिकरण मञ्च नेपालको आयोजनामा भईरहेको तीन दिने तालिममा मञ्चका अध्यक्ष सावित्रा घिमिरेले विपद्को बेला अग्रस्थानमा रहेर काम गर्ने महिलाहरु समग्र विषयमा भन्दापनि लैंगिक उत्तरदायी निर्वाह हुनेगरि काम गर्न जरुरी रहेको बताईन् ।

उनले अहिले सम्म महिलाहरु काम गर्दै आएपनि समाजमा पुरुषहरुले गरेको काम मात्रै देखिएकोले अब विपद् जोखिममा रहेर काम गर्ने महिलाहरुको एकताबद्ध हुन जरुरी रहेको बताईन् ।

तीनदिन सम्म हुने तालिमको सहजीकरणकोलागि मञ्चका कार्यक्रम संयोजक अम्रिता पोख्रेर, सदस्य इन्द्रा दानपाली र निर्मला विकले विपद्बारे जानकारी, विपद् हुनु पूर्व र पछिको जोखिम व्यवस्थापन लगायत विषयमा जानकारी दिईरहेका छन् ।