आसन्न निर्वाचनमा भोट हाल्ने तरिका सिकाउँदै महिला स्वास्थ्य स्वयमसेविका
काठमाडौं । निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म जिल्ला र वडास्तरमा मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम गर्न लागिएको आयोगले जनाएको छ ।
आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रत्येक वडामा एकजना महिला स्वास्थ्य स्वंयसेविकालाई मतदाता शिक्षा दिन परिचालन गर्ने र त्यसका लागि उनीहरूलाई १ दिनको तालिम दिइने छ । उनीहरु देशभर रहेका ६ हजार ४४३ वडामा उनीहरूले भोट हाल्ने तरिका सिकाउनेछन् ।
आयोगले सामाजिक सञ्जाल, अनलाइन मिडिया, रेडियो, टेलिभिजन र पत्रपत्रिका मार्फत पनि मतदाता शिक्षा कार्यक्रमलाई अघि बढाउने बताएको छ ।













