आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं । सोमबार साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।

तिथिका हिसाबले सोमबार कार्तिक कृष्ण चतुर्दशी। यो तिथि दिनभर अर्थात् २७ घडी १५ पला छ। अपराह्न ५ बजेर ४ मिनेटसम्म बजेपछि मात्र औँसी लाग्छ।

‘लक्ष्मीपूजा साँझ गर्ने परम्परा छ’, पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भने, ‘औँसीको सूर्योदय भएका दिन मंगलबार साँझ प्रतिपदा तिथि लागिसक्ने भएकाले सोमबार नै लक्ष्मीपूजा गर्न निर्देश गरिएको हो।’

पुराणमा औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो  दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ।

सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुग्घर पारी लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ।

साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ। दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न श्रीसूक्त पाठ गरिन्छ।

यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य प्राप्त हुने, समृद्धि प्राप्त हुने पुराणमा उल्लेख भएको इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्। ‘कार्तिक कृष्ण औँसी रात्रिलाई सुखरात्रि, दीपमालिका वा दीपोत्सव पनि भनिन्छ’, काफ्ले भन्छिन्।

पूजाकोठामा लक्ष्मीपूजा गरेपछि कन्याहरूले भैलो गीत गाउने चलन छ। घरपतिको भलो होस् भन्ने कामना गरेर भैलो गाउने चलन चलेको संस्कृतिविद् बताउँछन्। भैलिनीलाई सेलरोटी र दक्षिणा दिई विदा गरिन्छ। भैलिनीले दिएको आशीर्वाद लाग्छ भन्ने मान्यता छ।