धनगढीमा आज सत्ता गठबन्धनको भेला, शीर्ष नेताले सम्बोधन गर्ने

धनगढी । सत्ता गठबन्धन दलका नेताहरु धनगढी आउने भएका छन्। उनीहरु आईतबार सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको धनगढी आउन लागेका हुन्। सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी आउन लागेका हुन्।

धनगढीमा आयोजना हुने सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु आउन लागेको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए। गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ यहाँ आउदैछन्।

सुदूरपश्चिमको धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको नेकपा माओवादीले समन्वय गर्नेछ। यस्तै कर्णालीको सुर्खेतमा हुने भेला नेपाली कांग्रेसको समन्वयमा हुँदैछ। दुवै ठाउँको भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

शुक्रबारदेखि प्रदेशस्तरीय संयुक्त भेला सुरु गरेको गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ।

सोमबार माओवादी केन्द्रको समन्वयमा काठमाडौंमा संयुक्त भेला गर्नेे तयारी छ।