थारु पहाडीबिचको सद्भाव बढाउन मुख्य एजेण्डा : मन्त्री रावल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रण बहादुर रावल कैलाली क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । उनको मुख्य एजेण्डा थारु र पहाडीबिचको सद्भाव बढाउने रहेको छ ।

उनले क्षेत्र नम्बर १ मा थारु र पहाडीको तिक्ततालाई सद्भावमा बदल्न सके मात्रै यहाँको विकास हुने बताए । ‘बिशेषगरी क्षेत्र नम्बर १ थारु बाहुल क्षेत्र हो । यहाँ पहाडीहरूको बसोबास पनि उत्तिकै छ । त्यस कारण यो निर्वाचनमा मेरो पहिलो एजेण्डा यहाँका थारु पहाडी बिचको सद्भाव बढाउने हुन्छ । महत्त्व सबैको हुन्छ । विशेष गरी थारु भनेको कर्मशीलहरू हुन् । उनीहरूलाई सम्मान गर्नुपर्छ । यहाँका युवाहरूलाई प्राविधिक शिक्षा दिन सकियो भने जनशक्ति उत्पादन गर्न सकिन्छ ।’

क्षेत्र नम्बर १ मा सबैभन्दा ठुलो समस्या डुबानको रहेकाले यसलाई दीर्घकालीनरुपले व्यवस्थित गर्ने गरि समस्या समाधान गर्र्ने दोस्रो एजेण्डा रहेको बताए । उनले भने ‘हेर्नुस् अहिले पनि हामी डुबानको समस्या झेलिरहेका छौ । कर्णाली नदीले बर्षेनी बस्ती कटान गर्दै आइरहेको छ । पथरिया कान्द्रा नदीलाई अप्ठ्यारोमा पारेको छ । यहाँको भजनी जोशीपुरदेखि लिएर जानकी, टीकापुर क्षेत्र जलमग्न हुने गरेका छन् । त्यस कारण यसलाई दीर्घकालीन रूपमा व्यवस्थित हुने गरी समस्या समाधान गर्न आवश्यक छ ।’गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका रावलले आफ्नो उम्मेदवारी पूर्णतया जनताको पक्षमा रहेको बताए ।