न्यायको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको छु : गंगा चौधरी
कैलाली । कैलाली निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका गंगा चौधरीको पहिलो एजेण्डा टीकापुर विद्रोहबाट पीडा खेप्दै आएका जनतालाई न्याय दिलाउन उम्मेदवारी दिएको बताए ।
स्थानीय तह निर्वाचनदेखि कैलालीको अन्य निर्वाचन क्षेत्रसँगै निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले दरिलो पकड बनाउन सफल हुदै आएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई उम्मेदवार बनाएको हो ।
पहिलो पटक संसदीय अभ्यास गरिरहेको सो पार्टी तथा त्यसका उम्मेदवारहरु जीत आफ्नो पक्षमा पार्न अहोरात्र खटिएका छन् । उम्मेदवार चौधरी भन्छन् ‘हामी न्यायको लागि चुनावमा होमिएका छौ । टीकापुर राजबन्दी रिहाइ, झुठा मुद्दा खारेजी र अन्यायमा परेका टीकापुरबासीलाई न्यायको हुनुपर्ने हाम्रो पहिलो एजेण्डा हो ।’
विकास र समृद्धि हाम्रो दोस्रो एजेण्डा हो । न्याय नपाए सम्म विकास जहिले ओझेलमा पर्छ, त्यसैले हामी न्यायको मुद्धा बोकेर जनतामाझ आएको उनले बताए ।
उनले क्षेत्र नं. ३ को जनताप्रति विश्वास गर्दै भने, ‘राज्यले न्याय नगरेपनि आमजनताले न्याय गर्नेछन् । हामी जिते लगत्तै टीकापुर घटनासँग सम्बन्धित लाल आयोगसहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने छौं र राजबन्दी रिहाइ प्रमुख एजेण्डा बन्नेछ ।’
उनले चुनावी घरदैलोमा रहेका सत्तारुढ गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीलाई टुरिष्ट उम्मेदवारको संज्ञा दिदै भने कृष्णकुमार चौधरी क्षेत्र नं. ४ को मतदाता हुँ । हाम्रो प्रतिस्पर्धी पूर्व कृषिमन्त्री गौरीशंर चौधरी नै हो ।
सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी पार्टीले प्रदेश सभाबाट थारु समुदायको एकजनापनि पनि उम्मेदवार दिएन । अनि माओवादी पार्टीले थारु समुदायको सवालमा कसरी अवाज उठायो भन्ने प्रतिप्रश्न गर्दै न्यायको वकालत चाहने रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेजी गर्नमा पनि माओवादीले नै भूमिका खेलेको बताए ।













