कैलाली ४ मा दुई मन्त्रीबिच रोचक प्रतिस्पर्धा, नागरिक उन्मुक्ति चुनौती बन्दै
कैलाली । कैलालीको क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा १० जना उम्मेदवार छन् । यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायर र नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट विच रोचक प्रतिस्पर्धा हुने मतदाताहरुको आंकलन छ ।
यस्तै, राप्रपाबाट जयबहादुर धामी, नेमकिपाबाट सिताराम पण्डिल, जनता प्रगतिशील पार्टीबाट मोहन देव मिश्र, नागरिक उन्मुक्ति पार्टीबाट कइयाँ चौधरी, नेपाल संघीय समाजवादी पार्टीबाट भिम बहादुर थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोविन्द प्रसाद भट्ट र स्वतन्त्र उम्मेदवार मेखराज जोशी मैदानमा उत्रिएका छन् ।
वीरबहादुर बलायर विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएको बताउँछन् । उनी डोटीको सीताराम उच्च माध्यमिक विद्यालयबाट २०३३ सालबाट आफ्नो राजनीति यात्रा सुरु गरेको जानकारी दिए ।
अहिले उनी सुदूरपश्चिम प्रदेशको संस्थापक सभापति पनि हुन् । २०३४ सालमा नेविसंघको सभापति भएका बलायर ०३७ सालमा गिरफ्तार परेको बताउँछन् ।
४ वर्षको जेल जीवन पछि ०४६ सालको जनआन्दोलनता उनी निकै सक्रिय भूमिका निर्वाह गर पछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेविसंघ अध्यक्ष भए । त्रिवि नेविसंघ अध्यक्ष हुँदा २०४९ सालमा त्रिविमा स्ववियु सभापति पदमा लडे ।
विद्यार्थी राजनीतिपछि उनले गृहजिल्ला डोटीमा कांग्रेसको राजनीति अगाडि बढाए । उनी कांग्रेस डोटीका पूर्व सभापतिसमेत हुन् । २०६४ सालमा संसदीय राजनीतिको यात्रा थालेका बलायरले चुनाव जित्न सकेनन् । २०७० को संविधानसभा निर्वाचनमा भने उनी डोटीको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भए । त्यसपछि उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्रीसमेत बने ।
उनी क्षेत्र नं. ४ मै रहेका ग्वाँसी माविमा तीन वर्ष (२०४१,०४२ र ०४३ सालमा शिक्षक भएर काम गरेको हुँदा त्यतिबेला धेरै विद्यार्थीहरु आफूलाई सहयोग गरिरहेको साथै गठबन्धनलाई जोगाउन दलहरुकोपनि पूर्ण सहयोग र मेहनतले आफ्नो विजयमा विश्वस्त रहेको बताए ।
उनले आफूमा व्यक्तिगत आकक्ष केही नरहेको बताउँदै देशको अर्थतन्त्र र भौतिक पूर्वधार विकासलाई दरिलो बनाउनकोलागि पनि जित्न आवश्यक रहेको बताए । बाहुन र क्षेत्री ५२ हजार, दलित २१ हजार र ३४ हजार थारु समुदायको मत रहेको यस क्षेत्रमा डोटी बासी को ठूलो बाहुल्यता छ ।
उनले भने ‘नेकपा ऐमालेबाट उम्मेदवारी दिएका भट्ट पनि डोटी बासी नै हुन् तर उनले यस क्षेत्रमा पटक पटक जितेर पनि जनताको भावनामा चोट पुर्याएको हुँदा यहाँका जनता नयाँ नेतृत्वको खोजीमा छन् ।’
यस्तै पूर्व माओवादी नेता भट्ट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीलाई भारी मतान्तरले हराउँदै विजयी भएका थिए। त्यसबेला बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत प्राप्त गरेका थिए।
भट्ट भन्छन् ‘जनताले यस पटक पनि मलाई नै विजयी गराउने छन् । यो अवधिमा जनताका लागि मैले गरेको कामको आधारमा जनताले फेरि पनि मलाई नै रोज्नेछन् ।’ क्षेत्र नम्बर ४ का जनताले आफूलाई दुई पटक जिताउँदा नीति निर्माण, राज्यको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको भट्टले बताए ।
‘म मन्त्री भएँ तर, छोटो छोटो अवधि भयोे, यद्यपि, म मन्त्री भएपछि यो क्षेत्रको लागि धेरै काम गरेँ ।’ अलि अलि भएपनि सुदूरपश्चिममा बजेट पठाउन आफूले जहिलेपनि पहिलो प्राथमिकतामा उभिएको बताए । ‘सेती लोकमार्गको पहिलो भिजन मेरै हो । त्यसलाई रातो किताबमा पार्ने काम भयो ।’
हरैयामा विशेष व्यापार क्षेत्र (सेज) आफूले पारेको र त्यसको डीपीआर पनि भएको भट्टको भनाइ छ । उनका अनुसार धनगढी अत्तरिया औद्योगिक करीडोरको डीपीआर पनि सम्पन्न भएको छ । कञ्चनपुरमा दोधारा चाँदनी सुख्खा बन्दरगाह पनि मेरो भिजन हो उनले भने ।
पूर्वमन्त्रीसमेत रहेका भट्टले सुख्खा बन्दरगाह निर्माणको काम अगाडि बढिररहेको र दैजी–छेला औद्योगिक क्षेत्र निर्माणको कार्य अगाडि बढाइ पनि नेकपा (एमाले) को सरकार बाहिरिएपछि त्यो काम रोकिएको जिकिर गरे ।
एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाको नामसम्बन्धी मुद्दामा अदालतले दुई पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि उनी एमालेतिर लागेका थिए। एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा भट्टको नाम सर्वसम्मत सिफारिस गरेको थियो।
यी दुबैलाई जनालाई तक्कर दिन नागरिक उन्मुक्ति पार्टीबाट कैयाँ चौधरीले उम्मेदवारी दिएका छन् । कैया विगत लामो समयदेखि थारु समुदायको सवालमा अडिक रहेर काम गरेको बताउँछन् । उनी थारु कल्याणकारिणी सभा कैलालीका संस्थापक अध्यक्ष हुन् ।
उनका अनुसार थारु छात्राबासको जग्गा खरिददेखि भवन निर्माणमा ठूलो योगदान छ । जुन कारण थारु मतदाताको ९० प्रतिशत मत आफ्नो पक्षमा रहेको साथै २० देखि ३० प्रतिशत दलित र बाहुन क्षेत्रीको मत आफूनो पक्षमा रहेको बताउँदै आफ्नो जित पक्का रहेको दाबी गरे ।
उता नेपाली काँग्रेसका जिल्ला सचिब नृप सुनारले स्थानीय तहको निर्वाचनको मत परिणाममा आफू दोब्बर रहेको बताउँछन् । क्षेत्र नं. ४ तीन वटा पालिका चुरे गाउँपालिका, गोदाबरी नगरपालिका र गौरीगंगा नगरपालिका रहेको छ । जसमा चुरेमा उपाध्यक्ष, गोदाबरीमा मेयर गौरीगंगामा मेयर उपमेयर दुबै गठबन्धनको विजय भएकोले आफूहरुको जित सुनिश्चत रहेको बताए ।
स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्ने हो भने गठबन्धनको जित सहज छ । यो निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिकाका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको १ गरी कूल ३० वडा छन् ।
स्थानीय निर्वाचनमा त्यसमध्ये कांग्रेसले १५ वडा जितेको छ । माओवादी ४ र एकीकृत समाजवादी एउटामा विजयी भएका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ९ वडा जितेको छ ।
गठबन्धनबाट प्रदेश को (क) र (ख) दुबैमा बलियो उम्मेदवार रहेकोलेपनि संघमा बलायरलाई मदत पुग्ने जिल्ला सचिब सुनार बताए । उनका अनुसार संघमा पहिलाका उम्मेदवार सुनिल भण्डारी पनि टिकेटको दाबेदार थिए । उद्यपी उनले टिकेट नपाएपछि के गर्ने हुन् निक्योल भएको छैन ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले आफ्नो क्षेत्रमा स्थापित व्यक्तिलाई उम्मेदवारी बनाएका छन् । साथै थारु र पहाडी समुदायलाई मिलाएर उममेदवारी दिएको कारण मतदाताको मन जित्न सफल भएको बताए ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिब धर्म पाठकले क्षेत्र नं. ४ मा लेखराजलाई जिताउन पार्टी पूणरुपले सक्रिय रहेको बताए । उनका अनुसार एमाले राष्ट्रियतको पक्षमा उठाई रहेको थुप्रै मुद्धा छन् ।
उनले जनता माझ गएर पार्टीले ल्याएको अवधारण तथा विकास र सम्बृद्धिको सवाल, सुशानको सवाल लगायत मुद्धामा बुझाईरहेका छौं । जसले गर्दा जनताले पक्कैपनि साथ दिएर विजय गराउने छन् भन्नेमा आफू विश्वस्त छन् ।













