आज देशभर वर्षाको सम्भावना, सतर्कता रहन महाशाखाको आग्रह

काठमाडौं । विजया दशमीको दिन आज देशभर मौसम बदली रही वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली वर्षा भइरहेको छ।

दिउँसो र राति पनि देशभर मौसम बदली रही वर्षाको सम्भावना रहेको छ। मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण भू-क्षय, पहिरोको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले जनाएको छ।