धनगढीका मेयरले तीन महिनाको तलब भत्ताबाट २६९ जनालाई पोशाक हस्तान्तरण
कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकमबाट विभिन्न संस्थामा आश्रित २६९ जनालाई पोशाक हस्तान्तरण गर्ने भएका छन् ।
उनले स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरेका थिए । उनले सरकारी सेवासुविधा बाफातको रकम त बुझे, तर बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गर्दै आईरहेका छन् ।
उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ६७ हजार ८ सय रुपैयाँ बुझेका छन् । सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २६९ जनालाई पोशाक किनिदिने बताएका छन् ।
मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरु, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई पोशाक किनिदिने बताए ।

मेयर हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरी २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिए ।
यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए । उनले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधाबापतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए ।
जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए । मेयर हमालले आफूले पाएको गाडी सुविधा पनि वडा स्वास्थ्य क्लिनिकका लागि भनेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकेका छन् ।













