बाढीले घर भट्काएपछि लिपपोतका लागि माटोको अभाव
कैलाली । कैलारी गाउँपालिकाका वडा नं. ७ का रजनी चौधरीको घर बाढी सबै भत्किएको छ । दशैं नजिकिदै गर्दा उनलाई घर लिपपोत गर्न निकै हतारो भईसक्यो ।
उनी भन्छिन् ‘पहिला निर्वाधरुपले जंगलबाट माटो ल्याउथ्यो र लिपपात सहजै हुन्थ्यो । तर अहिले सामुदायीक वनले माटो ल्याउन दिदैन । लुकिछिपि अलि अलि लगेर लिपपोत गर्छौ ।’
उनका अनुसार यो वर्ष वाढीले सबै घर भत्किएपछि सामुदायीक वनले एक दिनको लागि माटो खोलेको छ । जसले गर्दा सबै काम छोडेर हतार हतारमा माटो बोकिरहेका छौं ।

उनीसंगै आएका राशीपनि दशैँमा आफ्नो घरलाई चिटिक्क पार्न डल्लब लिएर माटो लिन आएको बताउँछिन् । घर सबै भत्किएकोले यो वर्ष बढी माटो प्रयोग हुने उनको भनाई थियो । ‘दशैंको बेला देवी–देवता राख्नलाई डिहुरार देखि पूरै घर लिपपोत गर्नुपर्ने हुन्छ, अरु कार्यका लागि फुर्सद नै छैन, दशैँ आँगनमा आइपुगे छ, घर लिपपोत नगरे पाहुनाले खिसी गर्छन् ।’
परम्परागतरूपमा थारू समुदायमा अरु बेला घर लिपपोत नगरे पनि दशैँका लागि अनिवार्यरूपमा नयाँ माटोले घर लिपपोत गर्ने चलन छ। जमरा राख्ने कोठादेखि पूरै घर लिपपोत गर्नुपर्ने पुरानै चलन हो । स्थानीयवासी मीना चौधरीले यसलाई अहिले पनि जीवन्त राखेको बताउँछिन् ।

नयाँ माटोले घर लिपपोत गर्नु, सफा सुग्घर बनाउने, नयाँ आगोले डिहुरारमा बत्ती बाल्ने चलन छ । यो थारू समुदायको संस्कृतिसँग जोडिएकाले बचाउने प्रयास गरेको मिना बताईन् ।
घर लिपपोतका लागि आजभोली तालको माटो पाइन्दैन । त्यसैले यहाँ स्थानीयहरु सामुदायिक वनसंग अनुमति मागे र बनले एक दिनको लागि माटो खोलेको उनले बताईन् ।













