गठबन्धनबाट बैतडीमा अन्य पार्टीको भागमा पारे काँग्रेस मित्रवत् प्रतिस्पर्धा गर्ने

कैलाली । नेपाली काँग्रेस बैतडी जिल्ला कार्यसमितिले यहि आउँने मंसिर ४ गतेको चुनावमा संघका टिकेट नपाए गठबन्धन नगर्ने बैतडी शाखाले निर्णय गरेको छ । केन्द्रीय नेतृत्वले देशभरि नै गठबन्धनबाट चुनाव लड्ने सकस गर्दैगर्दा बैतडी शाखाले भने अन्य कुनै दललाई बैतडी जिल्ला जिम्मा लगाएर गठबन्धन नगर्ने निर्णय गरेका हुन् ।

असोज १० गते काठमाडौँमा बसेको जिल्ला कार्यसमितिको बैठकले गठबन्धनको नाममा बैतडी जिल्ला अन्य पार्टीको भागमा पारे त्यसको विरुद्धमा एकल उम्मेदवारी दर्ता गराउने निर्णय गरिएको जिल्ला सचिब देवराज जोशीले जानकारी दिए ।

जिल्ला सभापति चतुर बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको कांग्रेसले टिकट पाउनु पर्ने निर्णय गरेको जोशीले बताए । उनका अनुसार यदि यस्तो भएन भने मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरिएको हो ।

उनले भने, ‘बैतडीका जम्मा मत ४३ हजार हो । जस मध्ये स्थानीय चुनावमा नेपाली काँग्रेसले ३४ हजार मत प्राप्त गरेको छ । हामी प्रमाणको आधारमा बलियो छौँ, जुन कारण संघमा हामीले नै टिकेट पाउँनुपर्छ ।’

बैतडीमा एक मात्रै निर्वाचन क्षेत्र छ, त्यस कारण प्रदेश क या ख जुन दिएपनि स्वीकार छौं तर संघ छोड्दैनौं सचिब जोशीले भने । ‘हामीले यस क्षेत्र पाउँनुपर्छ, पाएनौँ भने यहाँ गठबन्धन हुँदैन । कांग्रेस एक्लै निर्वाचनमा होमिन तयार छ, र जित्छौँ पनि ।’

बैतडीमा कांग्रेसको संगठन बलियो रहेको भन्दै गठबन्धन नगर्दा यहाँ आफूहरूको विजय सुनिश्चित भएको दाबी गर्छन् । प्रतिनिधि सभा तर्फ एक मात्रै क्षेत्र रहेको यस जिल्लामा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार दामोदर भण्डारी विजयी भएका थिए ।

भण्डारीले ३९५२४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरबहादुर भण्डारीले २८२९१ मत पाएका थिए । अहिले भण्डारी एमालेका प्रदेश अध्यक्ष हुन् ।

उनी यस पटक पनि एमालेको तर्फबाट उम्मेदवार बन्ने डौडाहतमा छन् । गठबन्धन भित्र नेपाली कांग्रेस र माओवादी केन्द्र दुबैले दाबी गरिरहेका छन् ।

पछिल्लो समय बैतडी माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बढेपछि कांग्रेसले विरोध जनाएको हो । जिल्ला समन्वय समिति पनि कांग्रेसकै नेतृत्वमा भएकोले काँग्रेस नै बलियो रहेको दाबी गर्दै स्थानीय तहको गठबन्धनमा फाइदा नभएको जोशी बताउँछन् ।