बाढीपीडितलाई छाक टार्ने चिन्ता
कैलाली । कैलालीका बाढी प्रभावितलाई साँझ बिहानको छाक कसरी छाक टार्ने भन्ने चिन्ता भएको छ । बाढीले घरमा भण्डारण गरि राखिएको खाद्यवस्तु बगाएपछि उनीहरुलाई टार्ने समस्या भएको हो ।
दशैं नजिकिदै गाईरहेकोले बाढीपीडितहरू झन चिन्तित बनेका हुन् । उनीहरुले घरमा भण्डारण गरिएको वर्षभरिलाई खान पुग्ने अन्न बाढीले बगाएको छ। कतिपय प्रभावितको खाद्यान्न भिजेर नोक्सान भएको छ।
भण्डारण गरिएको स्थानमै भिजेर चामल, धान, गहुँ, तोरी, मसुरो नष्ट भएको प्रभावितले बताउँछन् । भजनी नगरपालिका–८, भर्थानटोलका तुलसीदेवी चौधरीको बाढीले खाद्यान्न नष्ट भएको छ ।

उने भनिन्, “चाडपर्व त परै जाओस्, साँझ बिहानको छाक टार्न नै समस्या छ। राहत दिइएमा त्यसैले चाडपर्व मनाउँला, हैन भने चाडपर्वमा भोकभोकै बस्ने अवस्था हुन्छ। खाद्यान्न जति सबै नोक्सान भइसक्यो।”
सोही वडाको जनकपुरका धनबहादुर साउद पनि बाढी प्रभावित हुनुहुन्छ। घरमा पसेको बाढीले धान, गहुँ, तोरी, चामल सबै भिजेर सडेको उनले बताईन् । उनको पोखरीमा पालेको माछासमेत बाढीले बगायो।
खाद्यान्न भण्डारण गरिएको ‘डेहरी’, ‘बखारी’ सबै बाढीले भत्काएर अन्नपात बगाएको छ। बाँकी रहेका अन्नबाली भिजेर काम नलाग्ने भएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताए । उनका अनुसार सो पालिकाको वडा नम्बर २, ३, ५, ७, ८ र ९ का धेरैजसो सर्वसाधारणले खाद्यान्न जोगाउन सकेनन्। पहिल्यै सुरक्षित स्थानमा सारेकाले मात्रै खाद्यान्न जोगिएको चौधरीले बताईन् ।
“भिजेर सडेको अन्न जमरा बनिसकेको छ ।” कैलालीको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकामा बाढीले अत्यधिक नोक्सान गरेको हो ।













