भजनीका बाढी पीडित एक सातापछि घर फर्किन थाले
कैलाली । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरु एक सातापछि घर फर्किन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केकाहरु आफ्ना घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् ।
भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवारको घर फर्कने वातावरण बनेको छैन ।
भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिए । उनीहरु शुक्रबार घर फर्किएका हन् । शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरलो छ । घरमा अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन् ।
वडा नं ८ का वडासदस्य लल्तु डगौरा थारुको परिवारलाई पनि बाढीले बिचल्ली बनाएको थियो । उनी पनि एक साता हुलाकी सडकमा बसेर घर फर्किएका हुन् । बर्सेनि पीडा सहने यहाँको स्थानीयको समस्या समाधान गर्न सरकार तयार हुनुपर्ने उनीहरुको माग छ ।













