कञ्चनपुरमा जङ्गली हात्ती धपाउन स्थानीय रातभर जाग्राम
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रका बासिन्दा हात्तीको बथान धपाउन रातभर जाग्राम बस्न थालेका छन् । स्थानीय किसानको खेतबारीमा पाक्दै गरेको धानबाली खाने र कुल्चेर बस्ने हात्तीको बथानलाई धपाउन रातभरि जाग्राम बस्नु परेको हो ।
चुरे क्षेत्र नजिकका बस्तीमा पसेर किसानको धानबालीमा नोक्सानी पु¥याउँदै आएको हात्तीको बथान वर्षा कम हुदै जादा जिल्लाको तल्लो समथर भूभागमा झरेको छ ।
गए रातिमात्रै हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ का दुई गाउँका किसानको झण्डै तीन बिघा जग्गामा लगाएको धानबाली खाएर नोक्सानी पु¥याएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार हात्तीको बथानले गर्जमुनि र खजुवाका गरी २२ जना किसानको धानबालीमा क्षति पु¥याएको हो । एक जना किसानको पाँच कट्ठादेखि दश कट्ठासम्मको धान बालीमा क्षति भएको ।
साँझ पर्नै लाग्दा धान रोपेको खेतमा आएको हात्तीको बथानले पेटभर खाएर मात्रै राति अबेर निकुञ्जमा फर्किएको स्थानीय बासिन्दा जयराज पाण्डेयले बताए । “धानबाली जोगाउनकै लागि रातभरि जाग्राम बस्यौँ” उनले भने, “पटाका पड्काएर र आगो बालेर मात्रै हात्ती फर्किए, निकै नोक्सानी भएको छ ।” थोरै जग्गा भएका किसानको पूरै धानबाली हात्तीले नोक्सान छ ।
गत महिनामात्रै शुक्लाफाँटा नगरपालिका–७ का एकजना बालिकाको हात्तीले ज्यान लिएको थियो । तीन वर्षदेखि हात्तीको बथानले नगरपालिका क्षेत्रमा लगातार किसानको बालीनाली र मानवीय क्षति पु¥याउदै आएको छ ।
हात्तीको बथान दैनिक बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । हात्तीकै डरले रातिको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा हिँडडुल गर्नसमेत बन्द गरेका छन् । वडा नं ५ का वडाध्यक्ष चक्रबहादुर खडकाले हात्ती नियन्त्रणका लागि भरपर्दो कार्य निकुञ्ज कार्यालय, नगरपालिका, प्रदेश र केन्द्रमा माग गरिएको बताए ।













