बाढीले भजनीको ८० प्रतिशत विद्यालयमा पढाइ प्रभावित

कैलाली । कैलालीको भजनी नगरपालिकाको ८० प्रतिशत विद्यालयमा एक सातादेखि पढाइ प्रभावित भएको छ । गत शनिबार आएको बाढीले विद्यालय डुबाउनुका साथै क्षति भएपछि पठनपाठन प्रभावित भएको हो ।

डुबान र बाढीले विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षा शाखाका अधिकृत पंखबहादुर शाहले बताए । “विद्यालय बन्द छैनन् तर एक सातादेखि पठनपाठन हुन सकेको छैन,” उनले भने, “विद्यार्थी, शिक्षक आउने र विद्यालयमा सरसफाइ गर्ने कार्य भइरहेको छ ।”

सो पालिकामा संस्थागत ३९ र निजी १५ गरेर ५४ वटा विद्यालय रहेका छन् । बाढीले गणेशमान माध्यमिक विद्यालय, कर्मेश्वर आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, कृष्णध्वज माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय लगायतमा क्षति गरेको छ ।

विद्यालयमा रहेका विद्यार्थी–शिक्षक पुस्तिका, शैक्षिक कागजात, शैक्षिक सामग्री, दराज, विद्युतीय उपकरण, कम्प्युटर लगायतमा क्षति भएको नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।