नयाँ मौद्रिक नीति विरुद्ध प्रदेशका उद्योगी व्यवसायीहरु आन्दोलन गर्ने

कैलाली । सरकारले जारी गरेको नयाँ मौद्रिक नीति, वाणिज्य कार्यालयको अनुगमन, धनगढी उपमहानगरपालिकाले प्लास्टिकजन्य बस्तुमा गरेको निषेध लगायतका विषयमा आपत्ति जनाउँदै सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् ।

बिहीबार धनगढीमा नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट उपाध्यक्ष रामचन्द्र संघाईको उपस्थितिमा सरोकारवालाहरुसँगको अन्तर्क्रियात्मक बैठकबाट प्रदेशका व्यवसायीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने घोषणा गरेका हुन्।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले सरकारले व्यवसायीलाई विस्थापन गर्नेगरी विभिन्न निर्णय गर्दै आएकोले त्यसका विरुद्ध व्यवसायीहरु एक भएर चरणबद्ध आन्दोलन गर्ने निष्कर्षमा पुगेको बताए। उनले सरकारको निर्णयका कारण साना तथा मझौला व्यवसायीहरु बढी मारमा परिरहेको तर्क दिए ।

सरकारले ल्याएको मौद्रिक नीतिले व्यवसायीहरु ब्याज तिर्न मारमा पर्ने उनको भनाइ छ। सरकार र निजी व्यवसायीबिच भएको भद्र सहमति विपरीत सरकारले ब्याज वृद्धि गरेको आरोप छ ।

कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दीनेश भण्डारीले बैंकले बढाएको ब्याजदर व्यवसायीहरुको पक्षमा नरहेको बताए। सरकारले व्यवसायीलाई ‘दुस्मनको नजर’ले हेरिरहेको भण्डारीको आरोप छ। शान्तिपूर्ण विरोधले सरकारले व्यवसायीको पीडा नबुझ्ने भएकाले कडा रुपमा आन्दोलन गर्नुपर्ने उनको भनाई छ।

कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले सरकारका कदमले व्यवसायीहरु आतंकित हुनुपर्ने अवस्था आइरहेको बताए। अचाक्ली ब्याजवृद्धि, मनोमानी ढंगले अनुगमन लगायतका कारण सरकारबाट व्यवसायीहरु डराइ रहेको बताए ।