बाढी प्रभावितको स्वास्थ्यमा असर
कैलाली । कैलालीको बाढी प्रभावितहरुको स्वास्थ्यमा असर दखिन थालेको छ । उनीहरुमा ज्वरो र रुघाखोकीको समस्या देखिएको हो ।
समस्या देखिएपछि भजनी नगरपालिकाका पाँच सय बढी प्रभावितको नगरपालिकाले स्वास्थ्य उपचार गरेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए ।
बाढी प्रभावितहरु बिरामी पर्न थालेपछि भजनी नगरपालिकाले सबै वडामा औषधिसहित स्वास्थ्यकर्मी खटाएको उनले बताए । ‘प्रभावितहरु डुबानको दोस्रो दिनबाट बिरामी पर्न थालेका छन्’, उनले भने,‘चाररपाँच जनालाई झाडापखालाको पनि समस्या देखिएको थियो । उपचारपछि ठीक भएका छन् ।’
सामूहिक मेसमा खाना खाइरहेका प्रभावितहरुलाई पानीमा समस्या भएको हुन सक्ने जनाइएको छ । उनीहरु दूषित पानी पिउन बाध्य छन् ।
डुबानपछि फोहोर, लामखुट्टे र दूषित पानीका कारण विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले नगरपालिकाले पनि सतर्कता अपनाइरहेको छ ।
फोहोर, चिसोलगायतका कारण बाढी प्रभावितलाई विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले त्यस्ता रोगको सङ्क्रमण फैलिन नदिनका वडामा आवश्यक औषधिसहित स्वास्थ्यकर्मी खटाउने, सरसफाइ र पानी शुद्धीकरणसम्बन्धी जनचेतना फैलाउने काम गरिरहेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।
भजनी नगरपालिकामा सबैभन्दा बढी विस्थापित छन् । सो पालिकाको वडा नम्बर ३, ५, ७ र ८ पूर्ण रूपमा डुबेको थियो । डुबान भएका घरबाट पानी निस्केको छ ।
डुबान भएको बेलामा दूषित पानी र चिसोका कारण पनि धेरै मान्छे बिरामी पर्ने सम्भावना रहने गरेको चौधरीले बताए । उनले बाढी प्रभावितलाई पानीकै कारण कुनै स्वास्थ्य समस्या नहोस् भनेर नगरपालिकाले सबै वडामा ‘मिनिरल वाटर’ बाँडेको उल्लेख गरे । ‘अझै केही समय मिनिरल वाटर नै पिउन र नल्काको पानी पिउनैपर्ने भएमा राम्रोसँग उमालेर मात्रै पिउनका लागि समुदायवासीलाई आग्रह गरेका छौँ’, स्वास्थ्य संयोजक चौधरीले भने ।
डुबान भएको कतिपय क्षेत्रमा उच्च नल्का रहेको थियो । उच्च नल्का भएका ठाउँका स्थानीयवासीले ती नल्काबाट पानी खाइरहेका जनाइएको छ । तर, बाढी घटेपछि कतिपयले डुबान भएको नल्काको पानी पिउन थालेका छन् । कैलारी गाउँपालिकामा उच्च नल्का नभएका गाउँका बाढी प्रभावित आ–आफ्नो नल्काकै पानी प्रयोग गर्न थालिसकेको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए ।
‘हामीले वितरणका लागि पीयूष, वाटरगार्ड र झुल माग गरेका छौँ’, उनले भने,‘डुबान भएको बेला बढिजसो झाडापखाला, रुघाखोकी, मलेरिया, डेंगु रोगको संक्रमणको सम्भावना रहने गरे पनि अहिलेसम्म त्यस्तो समस्या देखिएको छैन ।’
प्रभावितलाई रोगको संक्रमण हुनसक्ने भन्दै सो गाउँपालिकाले स्वास्थ्यको ‘क्विक रेस्पोन्स टिम’ ९आरआरटी० तयारी अवस्थामा राखेको छ । कहीँकतै समस्या देखिएमा वा संक्रमण फैलिएमा तुरुन्तै स्वास्थ्यकर्मी परिचालन हुने सापकोटाले बताए । कैलारी गाउँपालिकाको वडा नम्बर ५, ७ र ८ मा बाढीले बढी समसया गरेको थियो ।
बाढी प्रभावित क्षेत्रमा खास गरेर डेंगु, मलेरिया, भाइरल ज्वरो, झाडापखाला र स्क्रबटाइफस संक्रमणको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रोग संक्रमणको जोखिमलाई मध्यनजर गरेर पालिकाहरूमा आवश्यक औषधि, वाटर गार्ड र पीयूष पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए । ‘पालिकाहरूले झुल पनि माग गरेका थिए तर झुल हामीसँग पनि छैन’,उनले भने,‘प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले झुल खरिद गरेर वितरण गर्दै छ ।’
बाढीका कारण जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा बढी डुबान भएको थियो। डुबानका कारण करिब पाँच हजार परिवार विस्थापित भएकामा धेरैजसो अझै घर फर्कन सकेका छैनन् । उनीहरू हुलाकी सडक, सुरक्षित भवन, विद्यालयलगायतमा बसिरहेका छन् ।













