सत्याग्रहको १०औँ दिनमा डा. केसी उपचारकोलागि काठमाडौं फर्किए
कैलाली । धनगढीमा दश दिनदेखि सत्याग्रहमा बसेका डा. गोविन्द केसी काठमाडौं फर्केका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि थप उपचारका लागि काठमाडौं फर्केका हुन्
चिकित्सकसहितको टोलीको पटक पटकको आग्रहपछि बुधबार बेलुकी मात्रै उनी उनी आफ्नै खर्चमा काठमाडौं फर्के ।
सरकारको खर्चमा नजाने र सरकारलाई व्ययभार नगराउने भन्दै डा.केसी आफ्नै खर्चमा आज बेलुकी ५ बजेको श्री एयरलाइन्सकोे जहाजबाट काठमाडौं फर्केका हुन्। काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी रहेको उनका सहयोगीले बताए ।
यसअघि उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै मंगलबार दिनभर सरकारले काठमाडौं लैजाने प्रयास गरे पनि उनले मानेका थिएनन्। मंगलबार उनलाई लैजान नेपाली सेनाको स्काई ट्रक दिनभर धनगढीमै रहे पनि बेलुकी भने रित्तै फर्किएको थियो।
दश दिनदेखि धनगढीमा सत्याग्रहमा रहँदा डा. केसीको मांशपेशी सुक्दै गएको र पेटमा अल्सर भएर रक्तश्राव भएकाले सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न चिकित्स्कको टोलीले बारम्बार आग्रह गरेको थियो।
चिकित्सक टोलीको आग्रह अनुसार नै उनलाई काठमाडौं पठाउन जिल्ला प्रशासन कार्यालयको प्रयास असफल भएको थियो। तर, बुधबार उनले स्वास्थ्य अवस्था नाजुक भएकोले काठमाडौं राजी भए । उनी धनगढी कृष्ण मन्दिरको धर्मशालामा भदौ २७ गते सत्याग्रहमा बसेका हुन् ।













