भजनीमा बाढीबाट पाँच हजार विस्थापित

कैलाली । कैलालीका बाढी प्रभावितहरु घरमा बस्न सक्ने अवस्था नभएपछि सुरक्षित स्थान खोजी गर्दै हुलाकी सडकमा त्रिपालमुनि बसेका छन् । शनिबार आएको बाढीले हजारौं घर डुबानमा परेपछि उनीहरु विस्थापित भएका हुन ।

मोहना, पथरैया, काढा, कान्द्रा, कटैनी, कर्णाली लगायतका नदीनालाहरुमा आएको बाढीले डुबान भएको हो ।

घर डुबानमा परेपछि शनिबारदेखि सडक, विद्यालय, सुरक्षित भवन लगायतका ठाउँमा विस्थापित बसोबास गर्दै आईरहेका छन् । उनीहरु तीनदिनदेखि भोकभोकै छन् । स्थानीय रुपा चौधरी भन्छिन् ‘तीनदिनदेखि एकसरो लुगामा छौं, खाना पाएका छैनौं । बालबच्चा र बुढापाकाहरुको निकै चल्ली छ ।’

बाढीले धान चामल पुरै बगाएर लग्यो, अहिले सम्म राहतको नाममा चाउचाउ र विस्कुट बाहेक केही पाएका छैनौं, रुपाले भनिन् । ‘बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनमै लाग्यो । सात जनाको परिवार छ । ज्यान बाँचे खाइएला, भन्दै हामी सबै एकसरो लुगामा सुरक्षित स्थानतर्फ आयो ।’

उनका अनुसार घरको छाना सम्म पानी थियो, सम्पत्ति बगेको हिसाब छैन । जसको घरमा अलिक कम पानी पस्यो उनीहरु पशुचौपाया, बंगुर, बाख्रा लिएर हुलाकी राजमार्गमा पुगे । धेरै जनाको घरमा त अहिलेपनि घरभित्र जान सकिन्न ।

भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीका अनुसार बाढीले के कति नोक्सान ग¥यो, त्यसको यकिन विवरण अझै आई पुगेको छैन । तर, बाढीले घरमा रहेको अन्नबाली, खेतमा भएको धान, पोखरीको माछा लगायत ठूलो नोक्सान गरेको छ । नगरपालिकाले क्षति विवरण संकलन गरिरहेको नगरप्रमुख चौधरीले बताए ।

विस्थापितहरु भोकै, राहत पुगेन

शनिबार आएको बाढीका कारण छ हजारभन्दा बढी परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यद्यपि, विस्थापितको यकिन तथ्यांक अझै आएको भने छैन । तर उनीहरु सुरक्षित स्थानमा बसोबास भने गरिरहेका छन् । विस्थापितहरुलाई सुरक्षित स्थानमा सारिएपनि राहतको व्यवस्था गर्न नसकेको नगरप्रमुख चौधरी बताउँछन् ।

उनका अनसार अहिलेसम्मा एकदुई वटा संस्थाले चाउचाउ र विस्कुट लिएर आएकोछ, त्यो बाहेक कोही पुगेका छैनन् । ‘नगरपालिकाले चाउचाउ, विस्कुट, पानी र त्रिपाल बाहेक केही दिन सकेको छैन । विपद्मा सबैंले सक्दो सहयोग गरौं भन्दै शनिबार नै अपिल जारी गरिसकेका छौं, तर कोही पुगेका छैनन् ।’ नगरप्रमुख चौधरीले विस्थापित परिवारहरुको अवस्था निकै पीडादाय रहेको बताए ।

उनले भने ‘स–साना बच्चाहरु खानाको लागि टड्पिरहेका छन्, जनताको चित्कार सुन्न बाहेक केही गर्न सकिरहेका छैनौं । अहिले सम्म जिल्लाबाट अनुगमनमा कोही पुगेको छैन ।’ उनले फेरीपनि सबैलाई अ आफ्नो ठाउँबाट जस्ले जे सक्छ, त्यहि सहयोग गरौं भन्दै अनुरोध गरे ।

घरछाप्रोमा बसेर ज्यान जोगाए

भजनी डुबानका कारण घरमै फँसेकाहरुको डुबान भएको दोस्रो दिन आइतबार उद्धार भयो । घरको छाप्रोमा बसेका मान्छेहरुको उद्धार गरिएको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।

५८ हजार जनसंख्या रहेको भजनी नगरपालिकामा ३५/४० हजार घरपरिवार प्रभावित भएका छन् । पाँच हजारभन्दा बढी परिवार विस्थापित भएर सडकमा आइसकेको र धेरैको अझै उद्धार नै हुन नसकेको प्रवक्ता चौधरीले बताए ।

‘अझै पनि धेरै मान्छे घरको छाप्रोमा बसेका छन् । डुंगा बिना उनीहरुको घरसम्म पुग्न सक्ने स्थिति छैन । उनीहरुको उद्धारै भएको छैन, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयलाई हामीले हेलिकोप्टरमार्फत उद्धारका लागि गुहा¥यौं । तर, सुनुवाई भएन ।’

उनले आइतबार वडा नम्बर ३ का लगभग सबै प्रभावितहरुलाई सुरक्षित स्थानमा ल्याएको बताए । चौधरीका अनुसार वडा नम्बर ८ का सबै प्रभावितको भने अझै उद्धार भएको छैन । उद्धार कार्य जारी रहेको छ । उद्धारको पर्खाइमा रहेकाहरु शनिबारदेखि घरको छाप्रोमा बसिरहेका छन् । उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएकाहरुलाई नगरपालिकाले पानी र चाउचाउ खुवाइएके छ । विद्यालयमा बसेका प्रभावितहरुका लागि भने मेस चलाइएको प्रवक्ता चौधरीले जानकारी दिए ।

ठेगरपुर गाउँ नै बग्यो

भजनी नगरपालिका–१ मा रहेको ठेगरपुर गाउँ नै बगेको छ । सय घरधुरी रहेको सो गाउँलाई कान्द्रा नदीको बाढीले भग्नावशेषमा परिणत गर्यो । नगरपालिकाका प्रवक्ता चौधरीका अनुसार ४०/४५ घरको त केही पनि बाँकी रहेन, सबै बाढीले लग्यो ।

कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेपछि गाउँका धेरै मान्छे घरको छाप्रोमा बसेर रात कताएको नगरप्रमुख चैधरी बताए । उनका अनुसार छाप्रोमा बसोबास गर्नेहरुको विहान उद्धार भयो । अहिलेपनि उक्त बस्तीबाट पानी निस्किएको छैन । ढंगाको प्रयोग गरेर ओहरदोहर भईरहेको छौं ।

उनले भजनी लगायत क्षेत्रमा हरेक वर्ष यसरी नै विपत्तिले सताईरहेको बताउँदै भने, खेतमा रोपेको धान त बग्यो, घरमा सुरक्षित राखेको अन्न पनि जोगाउन सकेनौं । पालिकाभरिमा सयौं घरहरु भत्किएको छ ।

गाउँमा बाढी पसेपछि भजनी नगरपालिका वडा नं. ९ का ५५ वर्षिय कालीराम चौधरी घरबाट सुरक्षित स्थानमा जान खोज्दा पानीको वहावले उनललाई बगायो । उनी शनिबार बगेर बेपत्ता भएका थिए । गाउँले र सुरक्षाकर्मीको खाजतलासबाट शनिबार उनको शब फेला परेको छ ।

बेपत्ता भएको चौधरीको शव घटनास्थलभन्दा ३०० मिटर दक्षिण खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ थियो ।
यस्तै वडा नम्बर ८ का २० वर्षिय विनोद राजीपनि सुरक्षित स्थानमा जान खोज्दा शनिबार बाढीले बगाएर बेपत्ता भएका थिए । उनको शव स्टिमर डुंगामा खटेको सुरक्षाकर्मीको टोलीले आइतबार शव फेला पारेका हुन् ।

सोही दिन धनगढी उपमहानगरपालिका–१३ झलारीकी २० वर्षीया नवीना चौधरीको पनि माछा मार्ने क्रममा पानीमा डुवेर मृत्यू भएको थियो ।
तीनदिन सम्म विस्थापितको तथ्यांक एकिन भएन ।

प्रहरी तथ्यांक अनुसार करिब एक हजार परिवार विस्थापित भएका छन् । तर स्थानीय तहबाट फरक/फरक किसिमको तथ्यांक आइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार मोटामोटी रुपमा आएको तथ्यांक भजनी नगरपालिकाका करिब छ हजार परिवार, टीकापुर नगरपालिकाका ८०/९० परिवार, जानकी गाउँपालिकाका ७०/८० परिवार विस्थापित भएका छन् ।

त्यस्तै जोशीपुर गाउँपालिकाका चार सय परिवारको घर डुबानमा परेको र कैलारी गाउँपालिकाको दुई सय घर डुबेको जिल्ला प्रशासन कार्यालयमा तथ्यांक आएको छ । तर, जोशीपुर गाउँपालिकाले जोशीपुरका करिब डेढ सय परिवार विस्थापित भएको जनाएको छ ।

जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीका अनुसार घरबाट पानी ननिस्किएकाले विस्थापितहरु सहज रुपमा घरमा फर्कन सकेका छैनन् । विस्थापितहरुको यकिन तथ्यांक निकाल्न नसकेर राहत वितरण गर्न समस्या भएको हो । उनले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने बताए ।

भजनी नगरपालिकाको वडा नं. १, ३, ५, ७ र ८ पूर्ण प्रभावित छ । यस्तै, जानकी गाउँपालिकाको ४ र ७, कैलारी गाउँपालिकाको १, २, ५, ७ र ८, टीकापुर नगरपालिकाको ३ र ८ वडा बढी प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रभावित बस्तीमा स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मीले उद्धार गरेका थिए ।