पहिरोले घर पुरिँदा अछाममा दुईको मृत्यु
अछाम । पहिरोले घर पुरिँदा अछाममा दुई जनाको मृत्यु भएको छ भने सात जना हराएका छन्।
अछामको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले चार घर पुरिएका छन्। कमलबजारमा घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए।
उनका अनुसार, तीन सम्पर्कविहीन भएका छन्। पहिरोमा पुरिएको अवस्थामा सात जनाको उद्धार गरिएको छ।
त्यस्तै, तुर्माखाँद गाउँपालिका ५ मा परिहोमा पुरिएर चार जना सम्पर्कविहीन भएका छन्। उनीहरुको खोजी भइरहेको डीएसपी डाँगीले बताए।
यसैगरी, अछामकै ढकारी गाउँपालिकामा पनि पहिरोले गएको छ। पहिरो भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरो गएको तीनै ठाउँका सुरक्षाकर्मी खटिएका छन्। सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा उद्धारमा जुटेका छन्। विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी डाँगीले बताए।
तीन दिनदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा वर्षा भइरहेको छ। गएराति अत्यधिक वर्षा भएपछि अछामका विभिन्न स्थानमा पहिरो गएको छ।













