अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न कैलारीद्वारा जग्गा नापजोख
कैलाली । भुमिहिन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न कैलालीको कैलारी गाउँपालिकाद्वारा जग्गा नापजोख प्रक्रियाको शुभारम्भ भएको छ ।
गाउँपालिका र राष्ट्रिय भुमि आयोग विच भएको सम्झौता अनुसार भुमिहिन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन जग्गाको प्रमाणपत्र दिनको लागि वडा–६ भगतपुरबाट नापजोखको कार्य शुरु गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले नापजोख गर्दा विवाद पनि आउन सक्ने भएकोले त्यसमा सहजीकरण गर्न गाउँका भल्मन्साहरुको ठुलो भुमिका रहेको बताए ।
उनका अनुसार साँध सीमानामा बढी विवाद आउन सक्छ । यहाँका जनप्रतिनिधि, भल्मन्सा, नागरिक समाज, बुद्धिजीवी आफनै कार्यक्रम सम्झेर समस्या समाधान गर्नुपर्ने अनुरोध छ । अध्यक्ष चौधरीले वडा नं. ७, ५, ९ गरी सवै वडामा नापजोखको काम अगाडी बढाउने र लालपुर्जा वितरण गर्ने बताए ।













