रानाथारुको पहिचान लोप हुँदै
कञ्चनपुर । बदलिँदो परिवेशसँगै पक्की घर निर्माण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घरहरु हराउँदै गएका छन् । राना थारुको पहिचान झल्किने घर खरको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर हो तर आजभोलि यस्ता घर कमै देख्न पाइन्छ ।
घर मात्र नभई रानाथारु समुदायको परम्परागत पहिरन, दैनिक प्रयोगमा आउने घरमै निर्मित भाँडासमेत लोप हुँदै गएका छन् । रानाथारु समुदायका महिला घगरिया, अङ्गीया, उनिया लगाएर परम्परागत पहिरनमा सजिएका हुन्थे । तर पछिल्लो समय यो समुदायको मौलिक परम्परागत पहिरन हेर्न पर्व वा विवाहलगायत शुभकार्य नै पर्खिनुपर्छ ।
महिलाले लगाउने अङ्गीया, घगरियालगायत लुगा र विभिन्न गहना, जुन घरमै आफैँ सिउने चलन थियो । हाल ती पहिरन लगाउने त के लुगा सिउने सीप भएका व्यक्तिसमेत भेटाउन गाह्रो हुन थालेको कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ नयाँ कटानकी कैलाश रानाले बताए ।
“सबैले एकरएक जोर सिएर थन्क्याएका छौँ तर ती पनि पूरै सेट छैनन् विशेष पर्वमा मात्रै लगाउँछौँ”, उनले भने, “महिलाले नारीमा लगाउने चुडिया, घाँटीमा लगाउने घिच्चु, लघौरा, पठ्ठा, कानमा लगाउने कन्सिरी सक्रेला आदि गरगहना पाउन छोडिसके ।”
गाउँमा अहिले परम्परागत पहिरन र भाँडाकुँडा बनाउने सीप भएका मान्छेसमेत नभएको उनको भनाई छ । महिला जस्तै पुरुषले पनि धोती र कुर्ता लगाउँथे, तर गाउँमा एकरदुई जना बुढापाकाबाहेक अहिले कसैले पनि यस्तो लुगा लगाएको भेटिदैनन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ का सुदामा रानाले अहिलेको पुस्ताले परम्परागत पहिरन लगाउन रहर मात्रै गर्ने तर बनाउन नसिक्ने गरेको बताए । “हाम्रो संस्कृति हराउन लागेकोमा यसप्रति अहिलेका युवा सचेत छैनन्”, उनले भने, “अहिलेको पुस्ता आधुनिकतामा बढी चासो राख्छन् जुन कारण संस्कृति पुस्तान्तरण हुन सकेको छैन ।”
“पहिला रु पाँच सयमा आउने कपडा अहिले १५ हजार रुपैया पर्छ”, उनले भने, “यति महँगो सबैले लगाउन सक्दैनन्, चाँदीका गहनासमेत महँगीका कारण समयमा बनाउन छोडिएको हो ।” पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै राना थारुको बसोबास छ ।
संस्कृति जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय
रानाथारुको संस्कृति र पहिचान जगेर्ना गर्ने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा रानाथारुको सङ्ग्रहालय भवन निर्माण भइरहेको छ । रानाथारू समुदायको रहनसहन, भेषभूषा, परम्परागत गरगहनालगायतका सामग्री उक्त सङ्ग्रहालयमा राखिने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए ।
“अढाइ बिघा जग्गा संरक्षण गरेर भवन निर्माणको काम सुरु गरेछौँ”, उनका अनुसार भवन निर्माणका लागि आर्थिक अभाव छ यसका लागि प्रदेश र नगरसँग माग गरेका छौं । सङ्ग्रहालयले रानाथारुको संस्कृति संरक्षण गर्न र पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालन गर्ने योजना बनाएको छ ।













