मौलिक पर्वले भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोग गर्न मानव समाजलाई प्रेरित गर्ने गरेको बताइन् ।
कुमारी इन्द्रजात्राको अवसरमा शुुभकामना सन्देश दिँदै उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ नेपाली समाजलाई अघि बढ्न प्रेरणा मिल्ने बताईन् ।
राष्ट्रपति भण्डारीले इन्द्रजात्रा पर्वले प्रकृति र मानव समाजबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्नुका साथै सन्देशमा शताब्दियौँदेखि प्रचलनमा रहेका मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने बताईन् ।













