‘अपराधी हुनबाट बच्न मैले देउवाको साथ छाडेको हुँ।’

“पार्टीका नेताले निष्ठा, सिद्धान्त र जनताको राजनीति छाडेपछि उनको पछाडि कोही लाग्छ भने ती मानिस पनि अपराधी हुन्। अपराधी हुनबाट बच्न मैले देउवाको साथ छाडेको हुँ।”

कर्ण मल्ल नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा कांग्रेसबाटै सुदूरपश्चिम प्रदेश सभा सदस्य भइसकेका छन्। सभापित शेरबहादुर देउवाले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा दिए।

उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस (बीपी)बाट देउवा विरुद्ध चुनाव लड्ने घोषणा गरेका छन्। मल्लसँग कांग्रेस परित्याग गर्नुका कारण‚ चुनावी तयारीबारे हिमालखबरका लागि उन्नती चौधरीले गरेको संवाद :

नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य भइसक्नुभएको मान्छे अहिले कांग्रेस विरुद्ध चुनावमा होमिनुभएको छ‚ कस्तो बन्दै छ माहोल ?

तयारी ठीकै छ। अहिले मतदाताको इच्छा के छ? कसले कस्तो साथ र सहयोग दिने हो भन्ने सुझाव लिने क्रममा छौं।

कांग्रेस सभापति शेरबहादुर देउवाले २०४८ सालदेखि जित्दै आएको क्षेत्रमा तपाईं देउवाको प्रतिस्पर्धी बन्न सक्नुहुन्छ ?

उहाँलाई अहिलेसम्म मतदाताले जिताउँदै आएका छन्। तर‚ सधैं जिताउँछन् नै भन्ने ग्यारेन्टी हुँदैन नि। अहिले नै कसले जित्ने र कसले हार्ने भनेर ठाेकुवा गर्न थाल्यौं भने मतदाताको अपमान हुन्छ। नेताले जनतालाई विश्वास गरेर राजनीति गर्ने हो। मलाई विश्वास छ, यस पटक डडेल्धुराका जनताले देउवालाई मतदान गर्दैनन्। किनकि‚ उहाँ राष्ट्र‚ जनता र यहाँका मतदाताका लागि अभिशाप बनिसक्नुभएको छ।

तपाईंलाई वास्ता नगरेकैले देउवा विरुद्ध उत्रिनुभएको हो भन्छन्। देउवाले पार्टी बाहिर नजान आग्रह गरे आफ्नो अडान फिर्ता लिनुहुन्छ ?

देउवाले वास्ता गरे पार्टीमा लाग्ने र नगरे नलाग्ने भन्ने होइन। उहाँले निष्ठाको राजनीति छाडिसकेपछि नेता मानिराख्नुपर्छ भन्ने लाग्दैन। पार्टीका नेताले निष्ठा, सिद्धान्त र जनताको राजनीति छाडेपछि उनको पछाडि कोही लाग्छ भने ती मानिस पनि अपराधी हुन्। अपराधी हुनबाट बच्न मैले देउवाको साथ छाडेको हुँ।

देउवाको व्यक्तिगत जीवनबाट प्रभावित भएर कांग्रेसमा लागेकाे थिएँ‚ उहाँलाई नेता मानेको थिएँ। कांग्रेसबाटै प्रदेश सभा सदस्य पनि भएँ। तर‚ उहाँ विगतमा जस्तै रहनुभएन। त्यसैले उहाँले जति बोलाए पनि म फिर्ता हुन्‍नँ।

किनकि‚ पार्टीको आन्तरिक सैद्धान्तिक कुरा‚ संगठन व्यवस्थापन गर्ने अवस्थाबाट उहाँ चुकिसक्नुभयो। म नेपाली कांग्रेस (बीपी)को सदस्य भइसकेपछि देशभरि मेरा साथीहरू यही पार्टीमा जुटिराख्नुभएको छ। म ती साथीहरूको अपमान गर्न चाहन्नँ।

कुनै वेला बीपी कोइरालाले नै सुदूरपश्चिम क्षेत्रको उत्तराधिकारी तोकेको देउवा विरुद्ध लाग्नुभएको छ। कांग्रेस (बीपी)का सदस्यले यसो गर्दा बीपीको सिद्धान्त विरुद्ध नै गए जस्तो लाग्दैन ?

बीपीले उहाँलाई सुदूरपश्चिम क्षेत्रको उत्तराधिकार दिए पनि देउवा बीपीको लाइनमा हुनुहुन्न। कांग्रेस जनताको बीचबाट जन्मेको पार्टी हो। के अहिले देउवा जनताको मान्छे हुनुहुन्छ ? जो मान्छे बीपीको सिद्धान्तमा छैन‚ ऊ कसरी बीपीको मान्छे हुन्छ ?

देउवाले देशलाई खुला रूपमा विदेशी चलखेल गर्ने अखडा बनाइराख्नुभएको छ। उहाँले भनेका सबै ठीक, उहाँको कुरा पार्टीका सबैले मान्नुपर्ने‚ त्यस्तो पार्टी प्रजातान्त्रिक हुन्छ ? यस्तै‚ देशको आर्थिक दोहन गरिराख्नुभएको छ‚ त्यस्तो मान्छे कसरी बीपीको लाइनको हुन्छ! त्यसैले मैले बीपीलाई चुनौती दिएको होइन।

अन्त्यमा केही भन्न चाहनुहुन्छु ?

यसअघिका निर्वाचनमा देउवाले हरेक मतदातालाई पैसा वितरण गर्नुभयो। तर‚ यसपालि मतदाताले उहाँलाई मतदान नगरी आफ्नो मतको मूल्य फिर्ता गर्नेछन्। देउवा सत्तामा बसेको ३३ वर्ष भइसक्यो। यो अवधिमा उहाँले राष्ट्र र राष्ट्रियताका लागि कुनै काम गर्नुभएन। त्यसैले यसपटक मतदाताले देउवालाई छान्नेछैनन्। अर्थात्‚ नयाँ जनप्रतिनिधि छान्नेछन्।