सांसद विहिन टीकापुर विकास योजनाबाट विमुख
कैलाली । सरकारले सांसद रेशमलाल चौधरीलाई जेलमा कैद गर्दा हरेक वर्ष १०/१५ करोड रुपैयाँ संसद कोषको बजेट फ्रिज भईरहेको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।
टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले टीकापुरबासी अर्थात क्षेत्र नं. १ का डेढ लाख जनता पाँच वर्षसम्म सांसद बिहीन मात्रै भएनन् संदसकोषबाट आउने ७०/७५ करोड बराबरको विकासे योजनाबाट समेत विमुख भएको बताउँछन् ।
उनका अनुसार सरकारले आव २०७५/२०७६, २०७६/२०७७ र २०७७/२०७८ गरी ३ आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालनमा ल्यायो । जसअन्तर्गत क्रमशः ४ करोड, ६ करोड र ४ करोड बजेट सवै निर्वाचन क्षेत्रका लागि विनियोजन गरिएको थियो । तर दुर्भाग्य, कैलाली निर्वाचन क्षेत्र नं. १ आ.व. २०७६/२०७७ मा ६ करोड बजेटबाट वञ्चित भयो ।
निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप चौधरीले निर्वाचित सांसद रेशमलाल चौधरी टीकापुर घटना मुद्दामा निलम्बनमा परेपछि सरकारले आ.व. २०७६÷२०७७ मा ६ करोड बजेटबाट वञ्चित गराएको बताउँछन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम प्रत्यक्ष निर्वाचित सांसदको प्रत्यक्ष निगरानीमा छनोट तथा कार्यान्वयन हुन्छ । तर तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) सांसद रेशम चौधरीको अनुपस्थितिमा सो कार्यक्रम नेकपा एमालेका सांसदहरुको नेतृत्वमा कार्यान्वयन भयो ।
जिल्ला समन्वय समिति कैलालीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचित सांसद नभएको अवस्थामा राष्ट्रियसभा सदस्य एवं एमाले सांसद कमला ओली र शारदा भट्टको संयोजकत्वमा कार्यान्वयन भएको हो । आव २०७५/२०७६ मा सांसद ओली र २०७७/२०७८ मा सांसद भट्टको संयोजकत्वमा कार्यक्रम भएको जिल्ला समन्वय समिति कैलालीको तथ्यांकमा उल्लेख छ ।
टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले टीकापुर नगरपालिका आफैमा निकै योजनाबद्ध ढंगले कोरिएको ‘हेरिटेज सिटी’ को रुपमा रहेको बताउँछन् । तर यहाँको संघीय जनप्रतिनिधि नहुँदा पाँच वर्षमा हुने विकासको गति नै ठप्प भएको बताए ।
नेपाल सरकारले टीकापुरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने घोषणा गरेको भए पनि नगरपालिकाले हेरिटेज सिटीको रूपमा विकास गर्ने गरी २०७७ मा नै नगर बृहत् योजना बनाएको मेयर डगौराले बताए ।
क्षेत्र नं. १ सम्भावनाले भरिएको क्षेत्र हो । एकातिर कर्णाली नदी छ भने अर्को तिर यहाँ कृषि, उद्योगधन्दा, कलकारखानाको सम्भावना उत्तिकै रहेको डगौरा बताउँछन् । ‘आरोग्य केन्द्रको रुपमा टीकापुर पार्क, एयरपोर्ट सबै छ तर अहिले एयरपोर्ट गौचरणमा परिणत छ । टीकापुर नगरपालिका आफैमा योजनाबद्ध तरिकाले खाका तयार पारेको शहर हो । यहाँ विकासको फूलबुट्टा मात्रै भर्न बाँकी छ । यदि यहाँको प्रत्यक्ष निर्वाचित सांसद भइदिएको भए सबथोक सम्भव थियो ।’

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलको भनाइ पनि मेयर डंगौराको जस्तै छ । उनले भने, ‘स्थानीय तह र प्रदेश सरकारबाट हुने विकासका कार्य नभएका होइनन्, तर संघीय सरकारबाट हुनुपर्ने ठूला विकासका कार्य भएनन् । यो क्षेत्रको सांसद आज भएको भए यहाँको विकास र सम्भावनाबारे आवाज उठाउँथ्यो, तर भएन । दुःखका साथ भन्छु, यहाँको विकासको गति संघीय सरकारले रोकिदिएको छ ।’
निर्वाचन क्षेत्र १ मात्रै होइन, समग्र कैलाली जिल्लाको भविष्यसँग जोडिएको टीकापुर एयरपोर्ट, टीकापुरमा लालपुर्जासहित नेपालकै ठूलो खेलमैदान मैदान छ । तर रंगशाला बन्न सकेको छैन । कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको सनकट्टी पुल, मेडिकल कलेजलगायत ठूला आयोजना निर्माणको कार्य सांसद नहुँदा छायाँमा परेको नेता रावल बताउँछन् ।
टीकापुरलाई पर्यटनसँग जोडिएर ऐतिहासिक, सांस्कृतिक, कृषि र पर्यापर्यटन क्षेत्रको रूपमा विकास गर्ने नगरपालिको लक्ष्य छ । मेयर डगौराले भने ‘यहाँका ऐतिहासिक क्षेत्र र संस्कृतिको संरक्षण र विकास गर्ने, अर्गानिक कृषि उत्पादन गरी ब्रान्डिङ गर्ने र पर्यावरणलाई संरक्षण तथा सौन्दर्यकरण गर्ने योजनाहरू कार्यान्वयन गरिरहेका छौं ।’
नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमै टीकापुरलाई हेरिटेज सिटीको रूपमा विकास गर्ने लक्ष्य र कार्ययोजनाहरू नगरसभाबाट पारित गरेको छ ।













