अँट्वारी पर्व भदौ १२ गते तर प्रदेशले दियो १९ गते विदा

कैलाली, ९ । पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अँट्वारी पर्व यस बर्ष भदौ १२ गते परेको छ । तर सुदूरपश्चिम प्रदेश सरकारको राजपत्रमा भने १९ गते कैलाली कञ्चनपुरमा विदा दिने उल्लेख छ ।

अँट्वारी हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन मनाउने प्रचलन रहेको थारु अगुवाहरुको भनाई छ ।

थारु नागरिक सामाज कैलाली संयोजक तथा थारु अगुवा दीलबहादुर चौधरीले अँट्वारी पर्व यहि भदौ १२ गते परेको बताए । उनले कुशे औंसी पछिको पहिलो आइतबार र भाद्र शुक्ल पक्षको पहिलो आइतबार भदौ १२ गते परेकोले उक्त दिन थारु समुदायको अँट्वारी पर्व परेको बताउछन् ।

पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अँट्वारी पर्व मनाउने गरेका छन् । थारु समुदायको यो माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो ।

अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । अँट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारु समुदायका महिला पनि अँट्वारी व्रत बस्ने गर्दछन् ।

साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँट्वारी पुजा गर्ने गर्दछन् । अँट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ ।

फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ। अँट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अँट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको छ ।

यसैबीच, सुदूरपश्चि प्रदेश सरकारले अँट्वारी पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रत्येक वर्ष अँट्वारी पर्वमा सार्वजनिक विदा दिँदै आएको प्रदेश सरकारले यस वर्ष भने भदौ १९ गते अँट्वारी पर्वको विदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २२ गतेको निर्णय अनुसार भदौ १९ गते अँट्वारी पर्वको विदा दिने निर्णय गरेको हो । तर, थारु अगुवाहरुले भदौ १२ गते अँट्वारी पर्व परेकोले उक्त निर्णय सच्याउन माग गरेका छन् । उनीहरुको प्रदेश सरकारले उक्त निर्णय सच्याएर भदौ १२ गतेको दिन सार्वजनिक विदा दिनु पर्ने माग छ ।