गर्भवतीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा शिशुको मृत्यु

बैतडी, ७ भदौ । सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएकी बैतडीको सिगास गाउँपालिका(६ की बिन्दु धामीको शिशुको मृत्यु भएको छ । स्थानीय थालाकाडा स्वास्थ्यसंस्थामा सुत्केरी हुन नसकेर अवस्था जटिल भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

प्रादेशिक अस्पतालमा डाक्टरहरुले समयमै महिलालाई अस्पताल पुर्‍याउन नसक्दा शिशुको पेटमै मुत्यु भएको जानकारी दिएको उनका श्रीमान् दीपेन्द्र धामीले बताए ।

आइतबार सुत्केरी व्यथा लागेर स्वास्थ्यसंस्था पुगेकी २० वर्षीया बिन्दु धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो । दुर्गममा रहेको सिगास गाउँपालिकाबाट जिल्ला अस्पताल ल्याउन घण्टौं लाग्ने भएकाले सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

सरकारले अस्पतालमा सुत्केरी गराउन विभिन्न सुविधा दिएको घोषणा गरे पनि दुर्गम क्षेत्रका महिलाहरू यातायातको सहज पहुँच नहुँदा घरमै सुत्केरी बन्नुपर्ने बाध्यता छ ।