नेतालाई सुरक्षित गर्ने बहानामा महिला नेतृत्वबाट बञ्चित

कैलाली, २ भदौ । नेतालाई सुरक्षित गर्न पार्टीले वर्ग भूगोल मिलाउने नाममा महिलाहरुलाई अर्थपुर्ण सहभागिताबाट बञ्चित गराईरहेको महिला नेताहरुको भनाई छ ।

समावेशी कदमले आयोजना गरेको राजनीतिमा महिला सहभागिता विषयक छलफलमा यस्तो बताइएको थियो । छलफलमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका सुदूरपश्चिम प्रदेशका सचिव रक्षा वमले पार्टी भित्रका पुरुषहरु महिलाको नेतृत्वलाई स्वीकार गर्नै नसक्ने बताइन् ।

उनले नेताहरुलाई सुरक्षित राख्नको लागि वर्ग, भूगोल लगायत विभिन्न नाममा महिलालाई नेतृत्वबाट बञ्चित गरिरहेको उदाहरण दिईन् ।
उनले भनिन् ‘सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस पार्टीभित्र पुरुष जतिकै क्षमतावान थुप्रै महिला छन्, तर पनि पार्टी हरेक वर्ष आरजु देउवालाई नै धनगढीबाट टिकेट दिनुको कारण के हो ?’ उनले अनुसार सुदूरपश्चिम प्रदेशमा राजनीति गर्ने महिलाहरु नेतालाई सुरक्षित गरेर आफू अवसरबाट बञ्चित नहुन सुझाव दिईन् ।

यस्तै नागरिक उन्मूक्ति पार्टीका इन्दु थारुले लैंगिताको सवालमा कुनैपनि पार्टी सम्बेदनशील नरहेको औल्याईन् । उनले भनिन् ‘स्थानीय निर्वाचनमा गठबन्धनको नामबाट माओवादी, काँग्रेसले दुवै पदमा पुरुष नै उठाइ दिएर गतको निर्वाचन भन्दा यो वर्ष महिलाको सहभागिता घट्दो अवस्था आएको छ ।

’ संविधानले ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने सुनिश्चित गरेको छ । २०७४ को निर्वाचनबाट ४१ प्रतिशत महिला सहभागिता थियो, तर २०७९ को निर्वाचनबाट ३७ प्रतिशतमा झर्नु दुर्भाग्य रहेको नेता थारुले भनिन् । उनले थपिन् ‘अहिले ठूला दल भन्नेहरु न लैैगिकतामा समावेशी छ, न त जात तथा वर्गमा । कैलाली जिल्लाको १३ स्थानीय पालिका मध्ये ४ वटा पालिकामा दुवै पुरुष छन् ।

पार्टीले महिलालाई उम्मेदवारी नै दिदैन, दिएपनि कमजोर क्षेत्रमा मात्रै टिकेट दिने चलन छ ।’ यस्तै नेकपा माओवादी पार्टीका उर्मिला चौधरीले परिवारबाट सहयोग पाउने महिलाहरु राजनीतिमा टिकाउ छन्, होईन भने थुप्रै त्याग र बलिदानीको बाबजुटपनि उनीहरु पलायन भएको बताईन् । संविधानले नेतृत्व तहमा महिला सहभागिता हुनुपर्छ भनि सिस्टम बसालेको छ तर पनि आर्थिक, सामाजिक र भूगोलको हिसाबले महिला पछाडी नै परेको उनको तर्क थियो ।

उनका अनुसार चुनावी खर्च हेर्दा आर्थिकरुपमा कमजोर महिला जति सक्षम भएपनि चुनाव लड्ने आट गर्न नसकेको अवस्था सृर्जना भईरहेको छ । कार्यक्रममा नेकपा माओवादी, एमाले, एकिकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जसपा लगायतका नेतृत्व गर्ने महिला नेताहरुके सहभागिता रहेको थियो ।