कैलालीमा गठबन्धन र एमालेलाई टक्कर दिँदै नागरिक उन्मुक्ति

कैलाली, १ भदौ । दर्ता भएको केही दिनमै स्थानीय तह निर्वाचनबाट जनताबाट अनुमोदित भएको नागरिक उन्मुक्ति पार्टीप्रति पुराना राजनीतिक दल त्रसित भएका छन् । खासगरी कैलाली जिल्लामा स्थानीय तह निर्वाचनमार्फत यो पार्टीले आफ्नो प्रभाव जमाएको छ ।

टीकापुर घटनामा मुछिएका निलम्बित सांसद रेशमलाल चौधरीको नेतृत्वमा गठित सो दलले कैलालीलाई आफ्नो पकड क्षेत्र बनाएको छ । स्थानीय तह निर्वाचनमा कैलाली जिल्लामा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमालेलगायत ठूला दललाई पराजित गर्दै आफ्नो प्रभाव देखाइसकेको छ ।

सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेसँगै ठुला दलहरु सुदूरपश्चिम प्रदेशकै राजधानीसमेत रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीको चुनौती सामना गर्न आन्तरिक तयारी गरिरहेका छन् । सोही क्रममा प्रमुख दलहरुले आफ्ना जातीय मोर्चालाई सक्रिय बनाउन थालेका छन् ।

थारु बाहुल्य कैलाली जिल्लामा माओवादी केन्द्रले थारु मुक्ति मोर्चालाई अगाडि सारेको छ । मोर्चाको हालै कञ्चनपुर जिल्लाको सिंहपुरमा आयोजित सुदूरपश्चिम प्रदेश सम्मेलनमा पनि कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टी मुख्य चुनौती बन्न सक्ने स्वीकार गरिएको छ ।

मोर्चाका नेता कृष्णकुमार चौधरीले केही व्यक्तिको राजनीतिक स्वार्थको कारण रेशम चौधरीलाई प्रयोग गरिएको टिप्पणी गरे । थारु समुदाय र रेशम चौधरीलाई नै तिनीहरुले गुमराहमा पारेको बताउँदै उनले भने, ‘मलाई के लाग्छ भने, केही व्यक्तिले रेशमप्रति ठूलो षड्यन्त्र गरिरहेका छन् । आज ढकिया पार्टी (नागरिक उन्मुक्ति पार्टी) मा लागेर रेशमलाई रिहाइ गर्छौँ रे । म त के भन्छु भने रेशमलाई छुटाउन होइन, रेशमलाई जेलमा कुहाउन ढकिया पार्टी खोलिएको हो ।’

नेपाली काँग्रेस निकट थारु नेताहरु चुनावको मुखमा आएर टीकापुर घटनामा मुछिएकाहरुको मुद्दा फिर्ता तथा रेशम चौधरीको रिहाइ नगरिए आफूहरुको राजनीतिक करियर नै समाप्त हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन् ।

गत ४ साउन यता कैलाली क्षेत्र नम्बर ३ का उम्मेदवार आकांक्षी रामजनम चौधरीको नेतृत्वमा थारू नेताहरू पटक–पटक बालुवाटार पुगेका छन् ।

थारू नेताहरूको दबाबपछि प्रधानमन्त्री देउवाले टीकापुर घटनाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताइन्छ । सोही अनुसार गत शुक्रबार सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको टोली र थारू कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल भएको थियो ।

सभाको तर्फबाट छलफलमा सहभागी कैलालीका प्रभात चौधरीले वार्ता सकारात्मक भएको सुनाए । नागरिक उन्मुक्ति पार्टी कैलालीले जिल्लाका १३ स्थानीय तहमध्ये ३ पालिका प्रमुख जित्दै ठूलो दलको रुपमा स्थापित भएको छ । सो पार्टीले संघ र प्रदेशसभा निर्वाचनका लागि कैलाली र बर्दिया जिल्लामा आफ्नो सम्पूर्ण शक्ति परिचालन गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले पनि कैलालीको १, २, ३ मा पार्टीको प्रभाव अन्य दलको तुलनामा निकै राम्रो रहेको दाबी गरे । बर्दिया जिल्लाको क्षेत्र नं. १ र २ मा पनि निर्वाचनको तयारी पूरा भएको उनको भनाइ छ । थारु बाहुल्य जिल्ला मात्रै नभइ पहाडी जिल्लामा पनि संगठन विस्तार अगाडि बढाइएको केन्द्रीय सदस्य चौधरीले बताए ।