बाढीको त्रासले मोहना र कर्णाली छेउको जमिन बाँझै

कैलाली । कैलालीको टीकापुर र भजनी नगरपालिका नदी छेउछाउको विघौ विघा जमिन बाँझै छोडिएको छ । गत वर्ष कात्तिकमा आएको वाढीले टीकापुर नगरपालिका–५ साहिपुरमा कर्णाली नदीले बाध भत्काउँदा नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का अधिकांश स्थान डुबानमा पर्यो । उक्त क्षेत्रमा ठूलो धनमालको क्षति भएको थियो।

गत वर्षको बाढीलाई सम्झेर यो वर्ष भजनी र टीकापुर नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, र ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसानहरु बताउँछन् ।

बाढीको समस्या झेल्दै आएका टीकापुर र भजनीका किसान चैते धान खेती गर्दै आईरहेका छन् । बर्सातमा अधिकांशको खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले यो वर्ष खेती नगरेको भजनी बजारका किसान प्रेम चौधरीले बताए । उनका अनुसार विगतमा खेती गर्नेको पनि मेहनत मात्र खेर जाने भएको भन्दै यस वर्ष खेत बाँझो छोडेको बताउँछन् ।

भजनीका हरिबहादुर चौधरी गत वर्ष निकै मेहनत गरेर धान रोपाई गरेका थिए । तर भित्र्याउनै बेला कात्तिक २ गते आएको बाढीले दुई बिघा काटेर खेतमै थुपारेको धान बगायो । उनले भने ‘गत वर्ष धानको दाना देख्न पाइएन, त्यसैले यस वर्ष दुई बिघा जमिन बाँझो छोडिदियों ।’ उनी मात्रै होईन, त्यस वरिपरि खेत हुने छिमेकीले पनि यस वर्ष धान रोपेनन् ।

खेती गर्दा बढी खर्च लाग्ने तर उत्पादन पाउने ठेगान छैन । गत वर्ष सरकारले क्षतिपूर्ति दिने भनि अश्वान त दियो, तर पाउँनेबेला एकदमै थोरै । उनले भने ‘मेहनत र लगानी चाहिन्छ । एक बिघामा धान खेती गर्न ५० हजारसम्म खर्च हुन्छ । बाढीले उत्पादन पाउने ठेगान नभएपछि यस वर्ष धेरैले खेत बाँझो राखे ।’

भजनीमा यस वर्ष लगभग करिब एक हजार बिघा जमिन बाँझो रहेको भजनी नगरपालिकाका प्रमुख केवल चौधरी बताउँछन् । उनका अनुसार यहाँका किसानलाई जग्गा भएर पनि समस्या छ । खेती लगाए पनि बाली भित्र्याउन नपाउँदा यहाँका किसान चिन्तित हुन्छन् ।

नगर प्रमुख चौधरी भन्छन् ‘यहाँको किसानको समस्या समाधान गर्न पालिकाको केही योजना बनाउदै छ । तर थोरै लगानीमा समस्या समाधान नहोला । जसले गर्दा संघिय सरकारसंग पनि यहाँको पिडा बुझ्न आवश्यक छ ।’

भजनीकै बलबहादुर बुढा भन्छन् ‘हुलाकी सडक आसपासका खेतमा किसानहरु पस्ने आँट गर्दैनन् । अहिले भजनीका अधिकांश खेत तलाउजस्तै देखिन्छन् । विगतमा खेती गर्न मिल्ने जमिन पनि यस वर्ष बाँझै राखिएका छ ।’

भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी डुबान क्षेत्रमा खेत बाँझो राख्नुपर्ने बाध्यता रहेको बताउँछन् । पालिकाले यो क्षेत्रमा कति जमिन बाँझो राखिएको भन्ने तथ्यांक त राखिएको छैन, तर अधिकांशका जमिन बाँझो छ ।

उनका अनुसार पालिकाले किसानलाई सघाउने विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । चैते धानलाई प्रोत्साहन गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुख्यमन्त्री कार्यक्रम, ब्लक प्रदर्शन, कृषि औजार सहयोगजस्ता कार्यक्रम गरिरहेको छ ।

कर्णाली नदीको सुसाहटले निन्द्रा भंग

टीकापुर नगरपालिकाका कुन्तीदेवी चौधरीको घरआंगनबाटै कर्णाली बग्छ । वर्षायाममा उनलाई कर्णाली नदीको सुसाहटले निन्द्रा नै पर्दैन । पानी पर्न थालेपछि उनी राति चार÷पाँच पटक कर्णाली नदीतिर नजर लगाउने गरेको बताउछिन् । गत वर्ष कात्तिकको बाढीले निकै त्रास फैलाएको थियो । यसपटक कटान हुदैं नदी झन नजिक आएको छ ।

यो वर्ष कैलालीमा पानी कम परेकोले अहिलेसम्म नदीमा पानीको बहाव बढेको छैन । जनु कारण मनमा केही शान्ति छ। तर त्यो शान्ति कतिबेला विक्षिप्त हुने हो थाहा छैन, उनले भनिन् ।

कृषि व्यवसायी धनसिंह साउँद करिब २५ देखि ३० बिघामा धान खेती गर्छन्। उनले गर्ने धान खेती त्यहीँ कर्णाली नदीको आसपासमै हो। गत वर्षको बाढीले अधिकांश धान सखाप पार्यो । उनी कर्णाली नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपर्छ । समयमै बीउबिजन र मलखादको अभाव झेल्दै आएका साउँद बाढीकै कारण निरास हुने गरेको बताउँछन् ।

उनले भने ‘एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हुँदै गएको छ । बर्सातको समयमा शान्तिको सास समेत फेर्न पाईन्न । नदीमा तटबन्धका लागि कैयौँ पटक प्रयास भए तर, परिणाम असफल भयो । यस क्षेत्रका अधिकांश किसानहरुको हातमा जग्गाको लालपुर्जा छ, तर खेत नदीमा परिणत भईसकेको छ ।