‘हरेक पालिकामा लैङ्गिक संवेदनशील नीति हुनुपर्छ’

धनगढी, ३० साउन । विपत् तथा आपतकालीन अवस्थाकाबेला लैङ्गिक हिंसा रोक्न विज्ञहरुको रायका आधारमा स्थानीय तहहरुले योजना बनाउनु पर्ने सरोकारवालाले बताएका छन् ।

महिला मानव अधिकार रक्षक सञ्जालले आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसाविरुद्ध पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गर्दा विज्ञको राय लिनु पर्ने साथै यस क्षेत्रमा काम गर्ने सहयोगीहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिएका थिए ।

विषय विज्ञहरुसँग सल्लाह नलिएर योजना बनाइने गरेका कारण दीगो र सफल नहुने गरेको इन्सेक सुदूरपश्चिमका संयोजक खडकराज जोशीको भनाइ छ । ‘सरकारमा एकखालको दम्भ देखिन्छ, जसको कारणले सहकार्य र समन्वय हुँदैन’, उनले भने, ‘खास गरेर योजना, अनुगमन र मूल्याङ्कन नहुँदा समस्या देखिएको हो ।’

लैङ्गिक हिंसा रोक्न संयुक्त रुपमा काम नभएको कतिपयको भनाइ छ । आफ्नै तरिकाले काम गर्ने परिपाटीका कारण समस्या भइरहेको बार एशोसिएसन कैलालीका सचिव प्रेमबहादुर शाहीले बताए । ‘समन्वयको कुरा निकै समस्याको रुपमा देखिएको छ’ उनले भने । हरेक पालिकामा लैङ्गिक संवेदनशील नीति हुनुपर्ने शाहीको जोड छ ।

लैङ्गिक हिंसाविरुद्ध थुप्रै कानून बनेपनि कार्यान्वन पक्ष फितलो रहेको सहभागीको भनाइ छ । भएका कानुन कडाइकासाथ कार्यान्वयन गरेमा धेरै हदसम्म लैङ्गिक हिंसा रोकिन सक्छ । भएका कानुन कार्यान्वयन नभएके कारणले समस्या भइरहेको महिला मानव अधिकार रक्षक सञ्जाल कैलालीका अध्यक्ष अम्बिका भण्डारीले बताईन् ।

लैङ्गिक संवेदनशीलताको कुरालाई साझेदार सङ्घसंस्थाले जोडतोडका साथ उठाउँदै आए पनि सरकारी निकायहरुले प्राथमिकता नदिने गरेको उनको भनाई छ ।

तात्नु पर्ने निकाय नतातेकै कारण समस्या भइरहेको फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले बताए । ‘विपत् व्यवस्थापन एकांकीजस्तो भएको छ’, उनले भने ‘अब हामीले हाम्रो संस्कार, संस्कृतिलाई विश्लेषण गरेर योजना बनाउनु पर्छ ।’

विपद् व्यवस्थापनको हकमा थुप्रै ऐन कानून र नीति नियम बनिसकेको भन्दै समस्या ऐन, कानून र नीति नियममा नभइ कार्यान्वयनमा रहेको रेडक्रस कैलालीका मन्त्री लोकराज जोशीले बताए । उनले ऐनकानून कार्यान्वयन हुन नसक्नुको खाडल पत्ता लगाएर सोही अनुसार योजना बनाएर अगाडि बढ्नुपर्ने चर्चा गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका मोहनराज जोशीले विकासलाई एकांकी बनाएका कारण लैङ्गिक हिंसा बढेको बताए । पालिकाहरुले मानवअधिकारमुखी योजना बनाउनु पर्नेमा उनको जोड थियो ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना थारुले स्थानीय तहमा विपत् व्यवस्थापन समिति बनेको र सबैलाई समेट्ने कार्य भएको बताए । विपत्काबेला हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि सहकार्य गरेर अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए ।