मोहन्याल गाउँपालिकाका अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ, २९ साउन । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौं तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा अधिकृत क्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घूस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार रुपैयाँ उनको साथबाट बरामद भएको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको भन्दै आयोगले बिगो ४४ हजार रुपैयाँसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको मागदावी गर्दै आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।