आयोगले आजदेखि राजनीतिक दल दर्ता सुरु गर्ने
काठमाडौं २२ साउन । निर्वाचन आयोगले आजबाट राजनीतिक दल दर्ता सुरु गर्ने भएको छ। आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गर्न लागेको हो।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए।
आयोगका अनुसार दल दर्ताका लागि निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पेस गर्नुपर्नेछ। वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्ने छ।













