एसपीए कलेज ‘ग्रीन क्लिन अवार्ड’ मा मनोनयन
कैलाली, २० साउन । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेज अमेरिकाको न्यूयोर्क सहरमा हुने ग्रीन कलेज अवार्ड–२०२२ को मनोनयनमा परेको छ। ‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले वातावरण संरक्षणका क्षेत्रमा काम गरेका विश्वभरका कलेजहरुबाट आवेदन आह्वान गर्दै उत्कृष्ट कलेजहरुलाई ‘ग्रीन क्लिन अवार्ड’ प्रदान गर्ने गर्छ। सोही अवार्डको मनोनयनमा नेपालबाट धनगढीको एसपीए कलेज परेको हो।
‘आफ्नो अध्ययन–अध्यापन क्षेत्रबाट स्थानीय वातावरण संरक्षणमा यहाँहरुले खेलेको भूमिका निकै सह्रानीय छ। यहाँको योगदानको कदर गर्दै हाम्रो निर्णायक मण्डलले एसपीए कलेजलाई अवार्डको मनोनयनमा राख्ने निर्णय गरेको छ,’ आयोजकले बधाई दिदैँ उक्त कुरा उल्लेख गरेको छ। ग्रीन कलेज अवार्ड आगामी सेप्टेम्बर २४ तारिखका दिन न्यूयोर्कमा प्रदान गरिनेछ। मनोनयनमा परेका विश्वभरकै कलेजहरुको उक्त समारोहमा उपस्थिति रहने आयोजकले जनाएको छ।
लामो समयदेखि एसपीए कलेजले ‘ग्रीन क्लिन धनगढी’ क्लब गठन गर्दै वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ। कलेजले धनगढी मुख्य तथा सहायक बजार क्षेत्रमा, विभिन्न स्कुलहरु, छात्रावासहरु, धार्मिक, सामाजिक क्षेत्रलगायत सरकारी निकायहरुमा, डुबान क्षेत्रलगायत विभिन्न ठाउँहरुमा वृक्षारोपण गर्दै आएको छ। यस्तै वातावरण हराभरा बनाउनका लागि कलेजले नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन्।
एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले एसपीए कलेज अन्तर्राष्ट्रिय कलेजका रुपमा उदाएको बताउँदै वातावरण संरक्षणमा विधार्थीहरुको भूमिका रहेको बताए। ‘यस सुन्दर निलो ग्रह (पृथ्वी)मा मानिसहरु मात्रै नभएर अरु प्रजातिका लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘वातावरण संरक्षणमा एसपीए कलेजले खेलेको भूमिकाको सम्मानस्वरुप कलेज अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा परेको छ। यो हाम्रो र सबै सुदूरपश्चिमवासीका लागि गर्वको कुरो हो।’
कलेजको ग्रीन क्लिन क्लबले धनगढी सहरलाई ग्रीन र क्लिन बनाउने उद्देश्य राखेको क्लबमा आवद्ध विद्यार्थी स्यामुयल न्यौपानेले बताए। उनले ग्रीन कलेज अवार्डमा एसपीए कलेजको मनोनयन हुँदा गर्व लागेको बताउँदै आफूहरुले गरेको प्रयासलाई संसारले पहिचान गर्ने वातावरण बनेको बताए।
‘हामीले सुदूरपश्चिम प्रदेशको मुख्य हब धनगढीलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ विगत लामो समयदेखि अनवरत रुपमा काम गर्दै आएका छौंँ,’ अभियन्ता न्यौपानेले भने, ‘हाम्रो प्रयासको पहिचान गर्दै अमेरिकाको न्यूयोर्क सहरमा हुने अवार्डका लागि मनोनयनमा पर्नु ठुलो गौरवको कुरा हो। अवार्ड जोसुकैले जितोस्, हाम्रा लागि विश्वभरका हजारौँ कलेजहरुबाट मनोनयनमा पर्नु नै अवार्ड जिते बराबर हो।’
ग्रीन क्लिन धनगढीको स्थापना २०१२ सालमै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले गरेका हुन्। शाही संस्थाका पूर्व अध्यक्ष समेत हुन्। उनका पालामा ग्रीन क्लिन धनगढीले सम्पूर्ण धनगढीको मुख्य बजार क्षेत्र तथा सहायक मार्गमा वृक्षारोपण सम्पन्न गरेको थियो। त्यसपछि एसपीए कलेजका ग्रीन स्वयमसेवकहरुले ग्रीन क्लिन अभियानलाई नियमित अघि बढाइरहेका छन्। अघिल्लो हप्ता मात्रै ग्रीन स्वयमसेवकहरुले धनगढी बजार क्षेत्रको सरसफाइ, तारानगरस्थित आमाको माया छात्रवासमा वृक्षारोपणलगायत कार्यक्रम सम्पन्न गरेका थिए।
अघिल्लो महिना मात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए) ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको थियो। पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए।













