आज गुरही पर्व, कैलालीका केही पालिकाले दियो स्थानीय बिदा
कैलाली, १७ साउन । थारु समुदायको पहिलो पर्व गुरहीको अवसरमा कालालीका केही पालिकाले स्थानीय बिदा दिएको छ ।
जोशीपुर गाउँ कार्यपालिकाको साउन ६ गते भएको निर्णय अनुसार साउन १७ गते मंगलबार गुरही पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय भएको छ । गाउँपालिकाले सोमबार स्थानीय बिदा सम्बन्धी सूचना जारी गर्दै साउन शुक्ल पञ्चमीका दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा स्थानीय बिदा भएको जनाएको छ ।
त्यसै गरि कैलारी गाउँपालिकाले पनि स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको साउन १६ गते भएको निर्णय अनुसार साउन १७ गते मंगलबार परेको गुरही पर्वको अवसरमा स्थानीय बिदा दिने भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर ऐरद्वारा सोमबार जारी भएको स्थानीय बिदा सम्बन्धी सूचनामा गाउँपालिका अन्र्तगतका सरकारी कार्यालय तथा विद्यालय स्थानीय बिदा हुने जनाएको छ ।













