बीस लाखको तटबन्ध दूई महिनापनि टिकेनन्, १६ परिवार विस्थापित

धनगढी, ११ साउन । मोहना नदीमा आएकोबाढीले हालसालै निर्माण गरिएको २० लाखको तटबन्धन बगाएपछि सो क्षेत्रका १६ घरपरिवार विस्थापित भएका छन् ।

कैलारी गाउँपालिका वडा नं. ३ स्थित शिवरत्नापुर गाउँ बाढी, डुवानको उच्च जोखिममा छ । सो गाउँ विगतदेखि डुवानमा पर्दै आए थियो । विस्तारै नदीले जमिनसमेत कटान गर्दै आएपछि कैलारी गाउँपालिकामा स्थापना भएको खाद्य बैङ्कबाट १५ लाख र विपद् जोखिम न्यूनीकरण कोषको पाँच लाख गरी २० लाख रुपैयाँ लगानीमा यहि जेठ महिनामा तटबन्ध बनाइएको थियो ।

कटान भइरहेको क्षेत्रमा बनाइएको तटबन्ध दुई महिना पनि टिकेन । नदीमा आएको दोस्रो बाढीले ‘तटबन्धमा लगानी, बालुवामा पानी’ बनाइ दियो । सो गाउँका १६ परिवार अहिले विस्थापित भएर विचल्लिमा छन् ।

विस्थापितहरुलाई खाने पानी, चर्पी लगायत बसोबासको पनि समस्या छ । उनीहरु अस्थायी टहरा बनाएर बसेका छन् । नदी कटानका कारण विस्थापित भएका परिवारहरुले थुप्रै समस्या भोगिरहेको सो गाउँका स्थानीय सन्तराम चौधरीले बताउँछन् । ‘यस्तो बर्खामा विस्थापित भएका परिवारको विचल्ली छ’, उनले भने ।

चौधरीका अनुसार सुरक्षाका लागि बनाइएको तटबन्ध बगेपछि ९५ घरधुरी रहेको शिवरत्नपुर गाउँ नै कटानको उच्च जोखिममा छ । कटान गर्दै नदी बस्तीतर्फ सोझिएको छ । ‘उच्च जोखिममा रहेका केही परिवार टहरामा बस्दै आएका छन् ।’

गतवर्षमात्रै बेमौसमी वर्षापछि आएको बाढीमा धानबाली गुमाएको उनीहरु यसपटक बसोबास स्थान नै गुमाउने खतराले चिन्तित छन् । नदीको धार परिवर्तन भएर बस्तीतिर सोझिएको छ । जसले गर्दा गाउँ नै कटानको उच्च जोखिममा परेका स्थानीय बताउँछन् । उनीहरु सरकारसंग आफ्नो सुरक्षको व्यवस्था मिलाईदिन अनुरोध गरेका छन् ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले हरेक वर्ष डुवान, कटानको समस्या भोग्दै आएको सो गाउँवासी यस पटक कटानको उच्च जोखिममा परेपछि जीउज्यानको सुरक्षाका लागि विस्थापित भएको बताए ।

विस्थापितहरुले टहरा निर्माण गरेर अस्थायी बसोबासका लागि गाउँपालिकाले त्रिपालको व्यवस्था गरेको उनले बताए । ‘बर्खा रहेकाले कटान नियन्त्रणका लागि तत्कालै तटबन्ध निर्माण गर्न नसकिने अध्यक्ष चौधरी बताउँछन् ।

शिवरत्नपुरमा बढेको जोखिमको अवस्थालाई विश्लेषण गरेर जिल्ला दैवीप्रकोप उद्धार समितिले सो गाउँलाई जोखिमयुक्त सूचीमा राखेको छ ।