बाढीपहिरोले सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध

धनगढी, ४ साउन । अविरल वर्षापछि आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी राजमार्ग अवरुद्ध भएको छ । दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । दार्चुला र बैतडीका तीन ठाउँमा स्थानीय र प्रहरीले संयुक्त रुपमा पहिरो पछ्याएर सडक खुलाउने प्रयास जारी भएपनि बझाङको जालेबगरमा भने सेती नदीको बहाव बढेकाले त्यहाँ जान सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ ।