धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवा सुचारु

धनगढी, १ साउन । धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवा सुचारु भएको छ । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच सेवाको सुभारम्भ गरेका हुन्।

धनगढी उपमहानगरपालिकाको वडानम्बर १९ बाट सेवाको सुभारम्भ गरिएको हो। धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै वडाहरुमा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा प्रत्येक महिना तालिका अनुसार १९ वटै वडामा निशुल्क प्रदान गरिने छ।

धनगढीका नगरप्रमुख गोपाल हमालले यसअधि नै आफूलाई चढ्न दिइएको गाडी उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरेका छन्।

यस्तै धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ। उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ।

सुभारम्भकै दिन १६२ जनाले स्वास्थ्य सेवा लिएका हुन्। जसमध्ये जनरल फिजिसियनबाट १०८ जना र स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट ५४ जनाले सेवा लिएको जनाइएके छ ।