सुदूरपश्चिम प्रदेश सरकारले विनियोजित बजेटमध्ये १० अर्ब बढि खर्च गर्न सकेन
कैलाली, ३२ असार । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा कुल बजेट मध्ये १० अर्ब ४६ करोड ३९ लाख रुपैयाँ खर्च गर्न सकेन । कुल ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजनमा पुँजिगततर्फको छ अर्ब ९८ करोड ३९ लाख र प्रशासनिक तर्फको तीन अर्ब ४७ करोड ९९ लाख रुपैया खर्च नभएको देखिएको छ । प्रदेश सरकारले पुँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा आ.व. आर्थिक वर्ष २०७८/७९ असार मसान्त सम्म ११ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगत बजेट खर्च प्रतिशत ६३.०५ खर्च भएको देखाएको छ । प्रशासनिक कार्यमा खर्च हुने चालू बजेट खर्च प्रगति भने ७२.३२ प्रतिशत पुगेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा चालूतर्फ कुल १२ अर्ब ५७ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये नौ अर्ब नौ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । चालू बजेट तीन अर्ब ४७ करोड ९९ लाख खर्च नभएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले असारमामात्रै आठ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७/र७९ को ११ महिनामा (जेठ मसान्तसम्म) कुल बजेटको ४०.४४ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असारमामात्रै २६.३१ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म १२ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ खर्च भएको थियो । असार महिनामा भने आठ अर्ब २८ करोड १८ लाख रुपैयाँ निकासा भएको सो कार्यालयले जानकारी दिएको छ ।
असार मसान्तसम्म प्रदेश सरकारले कुल खर्च २१ अर्ब एक करोड १७ लाख रुपैयाँ पु¥याएको छ। असार मसान्तसम्मको खर्च प्रगति प्रतिशत ६६.७६ पुगेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार मातहतका मन्त्रालयमध्ये उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको खर्च प्रगति सबैभन्दा बढी रहेको छ । सो मन्त्रालयले आफूले पाएकोमध्ये एक अर्ब ७३ करोड ७४ लाख रुपैयाँ खर्च गरी ७६.८९ प्रतिशत खर्च गरेको छ ।
प्रदेश सभा सचिवालयले १८ करोड १९ लाख (७४.७९ प्रतिशत), प्रदेश लोकसेवा आयोगले ५१ लाख (५३.५३ प्रतिशत) बजेट खर्च गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १९ करोड ३५ लाख (४९.०४ प्रतिशत), आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ करोड ६७ लाख रुपैयाँ (३९.८८ प्रतिशत) बजेट खर्च गरेको छ ।
यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब २१ करोड २३ लाख रुपैयाँ (७५.८१ प्रतिशत), आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५४ करोड ३४ लाख रुपैयाँ (७६.७१ प्रतिशत) बजेट खर्च गरेका छन् ।
सबैभन्दा बढी बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले आठ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ (६९.५५ प्रतिशत) बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले चार अर्ब ९३ करोड १३ लाख रुपैयाँ (७५.७१ प्रतिशत) बजेट खर्च गरेको छ । प्रदेश योजना आयोगले दुई करोड १४ लाख रुपैयाँ (६९.५४ प्रतिशत) बजेट खर्च गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिएकोमध्ये दुई अर्ब छ करोड ३१ लाख रुपैयाँ (८८.८७ प्रतिशत) खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।













