बाढीले पुल भत्काएपछि ओहोरदोहर गर्न नै मुस्किल

कैलाली । कटैनी नदीमा आएको बाढीले महत्वपूर्ण कृषि सडकको काठे पुल भत्काएपछि स्थानीयवासी ओहोरदोहोर गर्न नै मुस्किल भएको छ ।

कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको पुल बाढीले भत्काएर आधा बगाएपछि भुईयाँफाँटा, रामपुर, तिघरी गाउँका किसान जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य भएका हुन ।

बिहीबार आएको बाढीले सो पुल भत्काएको हो । खेतीपातीको चटारो चलेको बेला पुल बगेपछि स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको छ ।

बाढीले काठे पुल भत्काएपछि जोखिम मोलेर खेतमा जान बाध्य भएको रामपुर गाउँका स्थानीय रामलाल चौधरीले बताए । उनका अनुसार ओहोरदोहोरका लागि रामपुर, भुईयाँफाँटा, तिघरीका स्थानीयले मिलेर बनाएको काठे पुल भत्केपछि यी तीन गाउँवासीलाई सबैभन्दा बढी समस्या झेल्नु परिरहेको छ ।

पुल भत्केपछि स्थानीयले ट्रयाक्टर, डल्लप लगायतका कृषि साधन लिएर खेतसम्म पुग्नका लागि वडा नम्बर ५ स्थित पवेरा मन्दी हुँदै तीन÷चार घण्टाको यात्रा गर्नु परिरहेको छ ।

नदीले काठे पुल बगाएपछि खेतीपातीको बेला किसानलाई निकै समस्या भइरहेको वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बमले बताए । ‘भुईयाफाँटा, रामपुर, तिघरीको खेतमा जाने मुख्य कृषि सडकको पुल हो त्यो’, उनले भने । ‘बाढीले पुल बगाएपछि जनताहरु आफ्नो खेतमा जान पवेराको बाटो हिड्न बाध्य छन् ।’

वडा अध्यक्ष बमले काठे पुल शीघ्र व्यवस्थापनका लागि आफूले गाउँपालिकाको कार्यालयलाई आग्रह गरेको बताए । केही दिन अगाडिमात्रै सोही वडाको छटकपुर बसन्तास्थित कटैनी नदीको काठे पुललाई बाढीले बगाएको थियो । रोपाइँको बेला दुवै ठाउँको पुल बगेपछि स्थानीयलाई ओहोरदोहोर गर्न निकै सास्ती भएको छ । उनीहरु काठे पुल तरेर खेतसम्म जाने गरेका थिए ।