सुदूरपश्चिममा ४० प्रतिशत रोपाइँ सम्पन्न
कैलाली । सुदूरपश्चि प्रदेशमा एक लाख ८१ हजार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ तर यो वर्ष मनसुन ढिलो शुरु भएको कारण मंगलबार सम्म तथ्यांक अनुसार ४० प्रतिशत मात्रै रोपाई सम्पन्न भएको कृषि निर्देशनालयले जानकारी दिएको छ ।
प्रदेशभरिमा सबै भन्दा बढी रोपाई हुने जिल्ला कैलालीमा ६७–७० हजार हेक्टर क्षेत्रफलमा रोपाई हुन्छ । कृषि निर्देशनालयका योजना अधिकृतका अनुसार अहिले सम्म कैलालीमा ३० प्रतिशत मात्रै रोपाई भएको हो ।
यस्तै कञ्चनपुरमा ४८ हजार ४६९ हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । जहाँ अहिले सम्म ३६ प्रतिशत रोपाई सकिएको छ । अछाममा १६ हजार हेक्टर जमिन मध्ये ५५ प्रतिशत रोपाई सम्पन्न भएको ऐरले बताए ।
बझांगमा १२ हजार हेक्टर मध्ये ५६ प्रतिशत रोपाई, बाजुरामा ६ हजार ९ सय हेक्टर मध्ये ३१ प्रतिशत रोपाई, डडेल्धुरामा ६ हजार १ सय हेक्टरमा ६५ प्रतिशत रोपाई, दार्चुलामा ४४ सय हेक्टरमा ३५ प्रतिशत रोपाई सम्पन्न भएको छ । डोटीमा १० हजार हेक्टर जमिन मध्ये ६ हजार ५ सय हेक्टरमा रोपाई हुने गरेको छ । बाँकी जमित बाँझो हुने गरेको ऐर बताउँछन् । उनका अनुसार डोटीमा हाल सम्म ३५ प्रतिशत रोपाई सम्पन्न भईसकेको छ ।

यो वर्ष सुदूरपश्चिम रोपाइँ गर्न पुग्ने गरी वर्षा नभएपछि धान बालीको खेती गरिने ६० प्रतिशत जग्गामा अझै पनि धान रोपाइँ हुनसकेको छैन। आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने किसानलाई बाध्यता छ ।
सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी कैलाली जिल्लामा धान उत्पालन हुन्छ । यसपालि कैलाली र कञ्चनपुरमा रोपाइँ ढिला भएको योजना अधिकृत ऐरले बताए । उनले भने ‘अकाशे पानीको भरमा रोपाई गर्नु भन्दा पनि सरकारले सिँचाइको भरपर्दो व्यवस्थाका लागि ठूलो सिँचाइ आयोजना ल्याउनु पर्छ ।’
मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन्। तर आजसम्म प्रदेशमा ठूलो मनसुनी वर्षा हुन सकिरहेको छैन।
यस वर्ष मनसुन जेठ २२ गते पूर्वी नेपाल प्रवेश गरेको बताइए पनि सुदूरपश्चिममा मनसुन सक्रिय हुनसकिरहेको छैन। गएको एक महिनायता यो प्रदेशमा अन्य प्रदेशहरूको तुलनामा निकै कम वर्षा भएको ऐर बताउँछन् ।
मनसुनी वर्षा भएपछि रोपाइँ गरौँला भन्ने आसमा बसेका सुदूरपश्चिम प्रदेशका किसानले दुई दिन यतादेखि केही राहत भएको बताउँछन् । कैलालीमा सोमबारदेखि पानी पर्न थालेको हो । भूमिगत र सतह सिँचाइको पानीको सहायतामा रोपाइँ गरिएको खेतको बाली सप्रिन आकाशको पानी आवश्यक पर्ने किसानको अनुभव छ।
सुदूरपश्चिम प्रदेशका अधिकांश जग्गामा आकाशको पानीको भरमा रोपाइँ गरिन्छ । प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभपरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको क्षेत्रीय कृषि विकास निर्देशनालयको तथ्यांक छ ।
यो प्रदेशमा धानखेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा भए पनि बाँकी जग्गामा यसको पर्याप्त सुविधा छैन। रासायनिक मल डिएपीको अभावले समस्या झेलिरहेका किसानलाई वर्षा हुन नसक्दा समयमै रोपाइँ गर्न समस्या थपिएको हो ।
रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने रासायनिक मलको अभाव हुँदा यसपालि सीमापारि भारतीय क्षेत्रबाट लुुकिछिपी कम गुणस्तरको रासायनिक मल भित्र्याएर रोपाइँ गरिरहेको किसानहरु बताउँछन् ।

सरकारले कृषिलाई प्राथमिकतामा राखे पनि समयमै चाहिने मात्रामा डिएपी मल कहिल्यै उपलब्ध हुन सकेको छैन । धानको ब्याड तयार भइसकेको भए पनि आफूहरु वर्षा होला र रोपाइँ गरौँला भनेर पर्खिबसेको किसानको गुनासो छ ।
पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ सम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त समय मानिन्छ। ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोग किराको समस्या देखा पर्न सक्ने कृषि प्राविधिकको भनाइ छ।
यो वर्ष धानबालीमा जैविक विविधताको उपायोग, आयत प्रति स्थापनमा सहयोग भन्ने मुल नाराका साथ कृषि ज्ञान केन्द्रले विभिन्न ठाउँमा रोपाई गरेर धान दिवस मनाईरहेको छ ।













