सुदूरपश्चिममा चट्याङ लागेर चार जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशमा मंगलबार चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा कैलालीका दुई र कञ्चनपुरका दुई गरी चार जनाको मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जानाएको हो ।

मृत्यु हुनेमा कैलारी गाउँपालिका–१ का ५६ वर्षीया सुगापङ्खी र गोदावरी नगरपालिका–३ मालाखेतीमा रोपाइँ गरिरहेको ४८ वर्षीय पुनाराम चौधरीको ज्यान गएको छ । पुनाराम कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का बासिन्दा हुन् ।

त्यस्तै, कञ्चनपुरको पुनार्वास नगरपालिका–८ का २५ वर्षीया शारदा थापा र सोही नगरपालिकाको वडा नम्बर ६ टाउन बजार प्रतिभा नगरका ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर मृत्यू भएको छ ।

चट्याङ लागेर कञ्चनपुरकै बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते छन् । गुलरियास्थित इशान अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

यसैगरी, कैलारी गाउँपालिका–३ का ३२ वर्षीय धनीराम चौधरी र वडा नं. ४ का ३४ वर्षीय कृष्ण चौधरी घाइते पनि भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।