सशस्त्र प्रहरीद्वारा विपद्जन्य घटनामा आधारित कृत्रिम अभ्यास

कैलाली । सशस्त्र प्रहरीले विपद्जन्य घटनामा आधारित खोज तथा उद्धारको प्रदेश स्तरीय कृत्रिम अभ्यास गरेको छ ।

विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अन्तर्गत सशस्त्र प्रहरीले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि कृत्रिम अभ्यास गरेको हो ।

विपद्को समयमा प्रभावितहरुको खोज तथा उद्धारलाई चुस्तदुरुस्त बनाउने र सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त तथा एकल रुपमा कृत्रिम अभ्यास भएको सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनी मुख्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित कैलालीको गोदावरी नगरपालिका–२ स्थित लामिताल, धनगढी उपमहानगरपालिका–९ को रामघाटस्थित मोहना नदी, गोदावरी नगरपालिका–४ को हाटखोलीमा कृत्रिम अभ्यास गरिएको छ । यसैगरी, कञ्चनपुरको शुक्लाफाँटा–५ वनसमिति, भीमदत्त नगरपालिका–६ को ऐठपुर, डोटीको सिलगढी नगरपालिका–३ र ५, दार्चुलाको महाकाली नगरपालिका–१ स्थित निज्याङ्ग खोलामा कृत्रिम अभ्यास गरिएको छ ।

यस्तै, अछामको मंगलसेन नगरपालिका–४ स्थित कैलाश खोला, बैतडीको दशरथ चन्द नगरपालिका–४ स्थित टुडीखेल, अमरगढी नगरपालिका–७ को खलङ्गा, बाजुराको बडिमालिका–८ स्थित बाउली खोला र बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित बाहुली गाडमा कृत्रिम अभ्यास गरिएको छ ।

सो अभ्यास कार्यक्रममा वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस लगायतको उपस्थिति रहेको थियो ।